राजनीति

कांग्रेसको १५ औँ महाधिवेशन निर्धारीत समयमैँ होला ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन तोकिएको मितिमा हुने–नहुने विषय फेरि अनिश्चित देखिन थालेको छ । पार्टीभित्र क्रियाशील सदस्यता नवीकरणमा देखिएको विवादले महाधिवेशन तालिकामै असर पर्न सक्ने संकेत वरिष्ठ नेता डा. शेखर कोइरालाले दिएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. कोइरालाले केन्द्रीय कार्यसमितिले पुस २६ देखि महाधिवेशन गर्ने निर्णय गरे पनि व्यवहारिक कठिनाइ देखिएको बताए । क्रियाशील सदस्यता फारममा सिरियल नम्बर नहुँदा प्रक्रिया प्रभावित भएको उल्लेख गर्दै उनले तोकिएको मितिभन्दा केही दिन पर सर्न सक्ने अवस्था आउन सक्ने धारणा राखे ।

“हामी समयमै महाधिवेशन गर्न चाहन्छौँ,” उनले भने, “तर सिरियल नम्बर नभएका क्रियाशील सदस्यता फारमले समस्या सिर्जना गरेको छ । यस्तो अवस्थामा मिति यथावत् रहन्छ भनेर ढुक्कसँग भन्न गाह्रो हुन्छ ।” यसैबीच, क्रियाशील सदस्यता विवादमा कांग्रेसले युटर्न लिँदै सिरियल नम्बरबिनाका करिब चार लाख फारम खारेज गर्ने निर्णय गरेको छ । सानेपामा बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले ती फारम अमान्य ठहर गर्दै नयाँ सिरियल नम्बर सहितका फारम छापेर जिल्लामा पठाउने निर्णय गरेको हो ।

महाधिवेशन नजिकिँदै जाँदा कांग्रेसभित्र नेतृत्व प्रतिस्पर्धा झनै तीव्र बनेको छ । विधानअनुसार वर्तमान सभापति शेरबहादुर देउवा पुनः उम्मेदवार बन्न नपाउने भएपछि नेतृत्व हस्तान्तरणलाई लिएर पार्टीभित्र ‘पूर्ण पुस्तान्तरण’को बहस सुरु भएको छ । सभापतिको दौडमा डा. शेखर कोइराला अग्रपंक्तिमा देखिएका छन् । १४औँ महाधिवेशनमा बलियो प्रतिस्पर्धा गरेका उनी यसपटक प्रारम्भिक अभियानमै सक्रिय छन् । त्यस्तै, संस्थापन पक्षबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कल्याण गुरुङलगायत नेताहरू पनि आ–आफ्नै रणनीतिसहित मैदानमा उत्रने तयारीमा छन् ।

सात वरिष्ठ नेताहरूको समूहले संस्थापनतर्फबाट साझा उम्मेदवार खोज्ने प्रयास गरिरहे पनि सहमति जुट्न कठिन देखिएको छ । यसले कांग्रेसको १५औँ महाधिवेशनलाई इतिहासकै सबैभन्दा प्रतिस्पर्धात्मक र चासोपूर्ण बनाउने संकेत देखिएको छ । लामो समयदेखि मिति, प्रक्रिया र विशेष महाधिवेशनको बहसले पार्टीलाई ध्रुवीकृत बनाइरहेका बेला सभापति देउवाको मध्यमार्गी प्रस्तावमार्फत महाधिवेशन पुस २६–२९ भित्रै सम्पन्न गर्ने नयाँ कार्यतालिकामा सहमति जुटिसकेको छ । नेतृत्व चयन मात्र होइन, कांग्रेसको भावी दिशा तय गर्ने निर्णायक मोडका रूपमा हेरिएको १५औँ महाधिवेशन समयमै सम्पन्न हुन्छ कि फेरि सर्छ भन्ने प्रश्न पार्टीभित्र अझै खुलै रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *