राजनीति

एमाले महाधिवेशनको निर्णायक दिन,नेतृत्वमा मिश्रित परिणामको संकेत

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत आज बिहान ८ बजेदेखि नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मंगलबार राति विद्युतीय भोटिङ मेसिनमा देखिएको प्राविधिक समस्याका कारण स्थगित भएको मतदान आजदेखि सञ्चालन गर्न तयारी गरिएको हो।

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच कडा प्रतिस्पर्धा देखिएको छ। दुवै नेताले आफ्ना–आफ्ना प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। यद्यपि, प्रतिनिधिहरूको मनोविज्ञान यसपटक केवल प्यानलअनुसार सीमित नरहेको देखिन्छ।

कतिपय प्रतिनिधिहरू प्यानलमै भोट हाल्ने पक्षमा रहे पनि ठूलो संख्या भने पार्टीको आन्तरिक सन्तुलन र एकता कायम राख्न मिश्रित नेतृत्व आवश्यक पर्ने धारणा राखिरहेका छन्। अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म दुवै पक्षका सक्षम र अनुभवी उम्मेदवारलाई रोजेर मतदान गर्ने मनस्थितिमा धेरै प्रतिनिधि देखिएका छन्।

महाधिवेशन प्रतिनिधिहरूका अनुसार एमालेको भावी दिशा सुदृढ बनाउन एकल प्यानलको वर्चस्वभन्दा पनि साझा र समावेशी नेतृत्व आजको आवश्यकता हो। यही कारण यसपटकको निर्वाचन परिणाम पदाधिकारी र केन्द्रीय कमिटी दुवै तहमा मिश्रित आउने सम्भावना बलियो देखिएको छ।

यो परिदृश्य एमालेको नवौँ महाधिवेशनसँग पनि तुलना गरिएको छ। त्यसबेला अध्यक्षमा केपी शर्मा ओली विजयी भए पनि अन्य पदमा दुवै पक्षका उम्मेदवार निर्वाचित भएका थिए। अहिले पनि प्रतिनिधिहरूको सोच र मतदान प्रवृत्ति उस्तै देखिन थालेको विश्लेषकहरू बताउँछन्।

८० वटा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुने भएकाले सम्पूर्ण प्रक्रिया सकिन कम्तीमा १० देखि ११ घण्टा लाग्ने अनुमान गरिएको छ। नेतृत्व चयनसँगै एमालेको आन्तरिक शक्ति सन्तुलन कता ढल्किन्छ भन्ने चासो आजको मतदानले स्पष्ट पार्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *