काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण प्रक्रियामा देखिएको विवादलाई टुंग्याउँदै सिरियल नम्बर नराखी जिल्लामा पठाइएका करिब ४ लाख नयाँ सदस्यता फारम रद्द गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले ती फारम अमान्य ठहर गर्दै अब सिरियल नम्बर सहितका नयाँ फारम छापेर जिल्ला जिल्लामा पठाउने निर्णय गरेको हो।
समितिका सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार २४ घण्टाभित्र सिरियल नम्बर अंकित नयाँ फारम छापेर जिल्लामा पठाइनेछ। “अघिल्लो फारमलाई निरन्तरता दिन नसकिने निष्कर्षमा समिति पुगेको हो,” उनले जानकारी दिए। सिरियल नम्बरबारे समितिभित्र लामो समयदेखि मतभेद थियो। महामन्त्री गगन थापा र सदस्य प्रकाश स्नेही रसाइली पुरानै फारम प्रयोग गर्नुपर्ने पक्षमा उभिएका थिए। तर संस्थापन पक्षका सदस्यहरू योगेन्द्र चौधरी र सीता गुरुङ भने ती फारम फिर्ता ल्याएर नयाँ सिरियल नम्बर सहितका फारम पठाउनुपर्ने अडानमा थिए।
लामो छलफल र रस्साकस्सीपछि महामन्त्री थापा पक्ष आफ्नो अडानबाट पछि हट्न बाध्य भएको समितिका एक सदस्यले बताए। स्रोतका अनुसार थापाले बैठकमा अन्तिम समयसम्म पनि पुरानै फारमलाई मान्यता दिनुपर्ने धारणा राखेका थिए। तर समितिमा बहुमत नबनेपछि अन्ततः नयाँ फारम छाप्ने निर्णयमा सहमति जुटेको हो। यो निर्णयसँगै क्रियाशील सदस्यता विवादले तत्कालका लागि निकास पाएको कांग्रेस नेताहरूको भनाइ छ।




