काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन मतदान मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ। यद्यपि, प्राविधिक कारणले मतदान सुरु हुन दिउँसो ४ बज्न सक्ने अनुमान गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन् ।
महाधिवेशन स्थल भृकुटीमण्डपमा बिहानदेखि नै नेताहरू तथा कार्यकर्ताको बाक्लो उपस्थिति देखिएको छ। अध्यक्षका दुई मुख्य दाबेदार—केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल—आ–आफ्नै प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।
अध्यक्ष पदमा ओली र पोखरेलबीच सीधा प्रतिस्पर्धा छ। ओली प्यानलबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार बनेका छन् भने ईश्वर पोखरेल प्यानलबाट सुरेन्द्र प्रसाद पाण्डे महासचिवका प्रत्यासी हुन्। मतदान सुरु हुनुअघि ओली पक्षका नेताहरू महाधिवेशन स्थलमा आक्रामक प्रचारमा देखिएका छन्। ईश्वर पोखरेल समूह भने फिल्डमा कम देखिए पनि भित्री रणनीतिमा केन्द्रित रहेको नेताहरूको दाबी छ। खासगरी प्यानलमा नपरेका स्वतन्त्र उम्मेदवारहरूसँग संवाद र सहकार्यमा ईश्वर समूह सक्रिय रहेको बताइन्छ।
प्यानल राजनीतिबाट बाहिर रहेर उम्मेदवारी दिने नेताहरूले महाधिवेशनलाई अझ रोचक बनाएका छन्। उपाध्यक्षमा रघुजी पन्त, भीम प्रसाद आचार्य र सचिवमा लालबाबु पण्डित स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन्।
सचिव पदमा अग्नि प्रसाद खरेल र कृष्ण गोपाल श्रेष्ठको उम्मेदवारी पनि चर्चामा छ। खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता तथा कानुनमन्त्री रहिसकेका नेता हुन् भने श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रूपमा काम गरिसकेका व्यक्ति हुन्।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव पदका लागि दर्जनौँ नेताहरू प्रतिस्पर्धामा छन्। उपाध्यक्षमा ५, उपमहासचिवमा ३ र सचिवमा ९ जना निर्वाचित हुने व्यवस्था छ।
११औँ महाधिवेशनबाट एमालेको आगामी नेतृत्व तय हुने भएकाले यो निर्वाचनलाई पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि चासोका साथ हेरिएको छ। मतदान परिणामले एमालेको भावी दिशा र आन्तरिक शक्ति सन्तुलन निर्धारण गर्ने अपेक्षा गरिएको छ।
यसैबीच, महिला कोटामा केन्द्रीय समिति सदस्यको रूपमा ओली प्यानलबाट ५२ जनाको सूची तयार भएको छ। सूचीमा रामकुमारी झाँक्री, कोमल वली, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता भुसाल, निरुदेवी पाल, सिता सिग्देललगायतका महिलाहरू समावेश छन्।
एमालेभित्र ओलीको नेतृत्वमा लामो समयदेखि पार्टीलाई सुदृढ र वैचारिक रूपमा एकजुट राख्ने प्रयास भएको उल्लेखनीय छ। पार्टीमा पुस्तान्तरण, संगठन सुदृढीकरण र राष्ट्रिय स्तरमा वैकल्पिक शक्ति निर्माणमा ओलीले महत्वपूर्ण योगदान पुर्याएको छ।
पार्टीका लामो समयका अनुभवी नेता महेश बस्नेत र अन्य युवा नेताहरू ओलीको नेतृत्वमा सक्रिय छन्। उनीहरूको भनाइ छ, “ओलीको नेतृत्वमा पार्टी एकजुट छ, बलियो छ र आगामी चुनौती सामना गर्न सक्षम छ।”
यसरी, एमालेको ११औँ महाधिवेशनले अध्यक्ष पदमा ओलीलाई भारी मतको समर्थनसहित पुनः निर्वाचित गर्ने संकेत देखाएको छ। आगामी कार्यकालमा ओली नेतृत्वमा पार्टीको संगठन संरचना सुदृढ हुने र राष्ट्रिय राजनीति मार्फत पार्टीलाई मजबुत र सुदृढ बनाउने अपेक्षा गरिएको छ।
नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि महाधिवेशनबाट सर्वसम्मती ओलीलाई अध्यक्षका रुपमा निर्वाचित गराउने तयारी रहेको थियो । तर अवसर आएका बेला आफ्ना लागि आफू नै लड्ने भन्ने शैलीका कारण प्रतिस्पर्धामा पोखरेल देखिएका छन् । पोखरेलले लोकतन्त्रमा प्रतिस्पर्धा सकरात्मक भएको बताएका छन् । तर अध्यक्ष ओलीले पार्टीभित्र र पार्टीबाहिरबाट हुने आक्रमणलाई चिरा पार्दै राष्ट्र,राष्ट्रियता तथा संविधानको रक्षाका लागि आफ्नो उम्मेदवारी भएको बताउँदै आएका छन् । अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि नागरिकका हक अधिकार,राष्ट्रिय सुरक्षा,लोकतान्त्रिक अभ्यास,संविधानको रक्षा र जनसरोकारका विषयलाई बाहिर ल्याएपछि चर्चामा छन् । नेकपा एमालेभित्र हरेक कठिनको समयमा सक्षम भूमिका निर्वाह गर्न सक्ने नेतृत्व ओलीमा छ ।
पटक–पटक प्रधानमन्त्री तथा दुई पटक नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भइसकेका ओलीलाई राष्ट्रियदेखि अन्तराष्ट्रिय जगतमा उच्च प्रशंसाका साथ चिनिएको छ । अध्यक्ष ओली छिमेकी देशले गरेका गतिविधि र आगामी रणनीतिका बारेमा प्रष्ट्र अभिव्यक्ति र निर्णय प्रक्रियालाई सहजै टुङ्गोमा पु¥याउने भएकाले नागरिकहरु,नेता तथा कार्यकर्ताहरुले यसपटक राष्ट्रवादी नेता ओलीलाई तेस्रो कार्यकालका लागि पनि अध्यक्षमा निर्वाचित गराउनुपर्ने माग छ । एमाले अध्यक्षमा पुनः ओलीले भारी मतले विजयी हासिल गर्ने ओली पक्षका नेता तथा कार्यकर्ताहरुले दाबी गर्दै आएका छन् ।




