देश

राष्ट्रियसभा उम्मेदवारीको तयारीसँगै राष्ट्रपति पौडेलका राजनीतिक सल्लाहकार थापाको राजीनामा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्।

राष्ट्रपति पौडेलको सचिवालयले थापाले राजीनामा दिएको पुष्टि गरेको छ। सचिवालयका अनुसार माघ ११ गतेका लागि तय राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारी गरेपछि उनले राष्ट्रपतिलाई जानकारी गराउँदै राजीनामा दिएका हुन्।

थापा नेपाली कांग्रेसको २०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनबाट खुलातर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यसैगरी, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कांग्रेसबाट धनकुटा निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी एमाले उम्मेदवार राजेन्द्र राईसँग पराजित भएका थिए।

२०७९ फागुनमा रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि थापा उनका राजनीतिक सल्लाहकार नियुक्त भएका थिए। राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने तयारीसँगै उनले सल्लाहकार पदबाट राजीनामा दिएका हुन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *