राजनीति

एमाले महाधिवेशनमा आज मतदान, ओली र पोखरेल प्यानलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । पार्टीभित्र दुई मुख्य प्यानलसहित अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलले उम्मेदवारी दिएका छन् ।

ओली प्यानलबाट उपाध्यक्षमा रामबहादुर थापा, विष्णु प्रसाद पौडेल, गुरु बराल र पृथ्वी सुब्बा गुरुङ उम्मेदवार बनेका छन् । ओली पक्षबाट उपाध्यक्षमा उम्मेदवारी दिने भनिएका प्रदीप ज्ञवालीले अन्ततः उम्मेदवारी नदिने निर्णय गरेका छन् । महासचिव पद नपाएपछि ज्ञवालीले पदाधिकारीमा नबस्ने निर्णय गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् ।

ओली पक्षबाट महासचिवमा शंकर पोखरेल उम्मेदवार बनेका छन् भने उपमहासचिवमा विष्णु रिमाल, रघुवीर महासेठ र लेखराज भट्ट उम्मेदवार छन् । सचिव पदका लागि पद्मा अर्याल, शेरधन राई, यामलाल कँडेल, राजन भट्टराई, महेश बस्नेत, छबिलाल विश्वकर्मा, खगराज अधिकारी, हिक्मत कार्की र भानुभक्त ढकालले उम्मेदवारी दिएका छन् ।

यसैबीच ओली पक्षका केही नेताहरू प्यानलमा नपरे पनि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । प्रचार प्रसार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा उम्मेदवारी दिएका छन् भने अग्नि खरेल र लालबाबु पण्डित सचिव पदका लागि प्रतिस्पर्धामा छन् ।

ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, गोकर्ण विष्ट, अरुण नेपाल र रघुजी पन्त उम्मेदवार बनेका छन् । महासचिवमा सुरेन्द्र पाण्डे, उपमहासचिवमा योगेश भट्टराई, बैजनाथ चौधरी र आनन्द पोखरेल उम्मेदवार छन् ।

त्यस्तै सचिव पदका लागि गोकुल बास्कोटा, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, विनोद ढकाल, पुरुषोत्तम पौडेल र कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । १९ सदस्यीय पदाधिकारीमध्ये पोखरेल प्यानलबाट १७ जनाको मात्रै उम्मेदवारी परेको छ ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । एमाले महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिएको छ । मतदान सम्पन्न भएपछि आजै मतगणना हुने निर्वाचन आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *