देश

पतञ्जली जग्गा प्रकरणमा माधव नेपालविरुद्ध सबै कागजात पेश गर्न अदालतको आदेश

काठमाडौं । विशेष अदालतले पतञ्जली जग्गा प्रकरणमा अनियमितताको अभियोग लागेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध मुद्दा दायर गर्दा प्रयोग भएका सम्पूर्ण फाइल, उजुरी र कागजात पेश गर्न आदेश दिएको छ।

आजको सुनुवाइमा न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुद्दा दायर गर्दा प्रयोग गरिएका सबै कागजात अदालतमा पेश गर्न निर्देशन दिएको हो। अदालतले २०६९ साल मंसिर २५ गते अख्तियारले गरेको निर्णयको प्रतिलिपी पनि पेश गर्न आदेश दिएको छ।

निर्देशन अनुसार, अख्तियारले मुद्दा चलाउँदा तयार गरेका फाइल, उजुरी, सरकारी तथा प्रतिवादी पक्षका साक्षीहरू विशेष सरकारी वकिलको कार्यालयमार्फत पेश गर्नुपर्नेछ। साथै, साक्षीहरूलाई प्रत्यक्ष वा भिडियो कन्फरेन्समार्फत इजलासमा उपस्थित गराइ बयान लिनुपर्ने व्यवस्था गरिएको छ।

यसअघि विशेष अदालतले तत्कालीन प्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। अदालतले पतञ्जलीसँग सम्बन्धित कम्पनीले हदभन्दा बढी जग्गा खरिद गर्ने वा अन्य व्यक्तिलाई बिक्री वितरण गर्ने निर्णयहरू ‘विशुद्ध नीतिगत निर्णयको परिधिमा पर्छ वा पर्दैन’ भन्ने विषय अन्तिम फैसलामा निर्धारण हुने स्पष्ट पारेको छ।

अख्तियारबाट आवश्यक कागजात प्राप्त भएपछि मात्र अदालतले मुद्दाको सुनुवाइ अघि बढाउने जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *