काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनको अन्तिम तयारीका क्रममा पार्टीभित्र एकता र मन मिलाउने प्रयास तीव्र देखिएको छ। मङ्सिर २६ गते भृकुटीमण्डपमा सम्पन्न केन्द्रीय कमिटी बैठकमा सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीसँग “सङ्ख्या होइन, मन मिलाउनुस्” भनी आग्रह गर्दा बैठकको वातावरणमा स्पष्ट फेरबदल आएको थियो।
बैठकमा दोस्रो विधान महाधिवेशनबाट पारित विधान संशोधन गरी पदाधिकारी र केन्द्रीय कमिटीको सङ्ख्या बढाउने विषयमा गरमागरम बहस चलिरहेको थियो। केन्द्रीय सदस्य खिमलाल भट्टराईले ‘फ्लोर’बाट विधान संशोधनको प्रस्ताव राखेपछि पदाधिकारी र सदस्यहरूले खुला बहस थाले।
सचिव भट्टराईले विधान संशोधन मार्फत सङ्ख्या बढाउँदा नेताहरूको मन मिल्ने सुनिश्चितता नहुने र पार्टीभित्र असन्तुष्ट नेता बाहिर जान सक्ने सम्भावना उल्लेख गर्दै, अन्तरपार्टी लोकतन्त्रको अभ्यास गर्नुपर्ने तर्क प्रस्तुत गरे। अध्यक्ष ओलीले सचिव र सदस्यहरूको अनुरोध अनुसार बहसलाई छोटो गर्दै विधान संशोधन पारित गर्न सहमति जनाए।
यसरी पारित संशोधनले ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारीको संरचना परिवर्तन गरेको छ। वरिष्ठ उपाध्यक्षको पद हटाइएको छ, उपाध्यक्षको संख्या घटाइएको छ र सचिवको संख्या नौ पुर्याइएको छ। यसले एमालेभित्र भविष्यमा विधान महाधिवेशन आयोजनाको बहसलाई पनि जन्म दिएको छ।
केन्द्रीय सदस्य विष्णु रिजालले विधान संशोधनको अभ्यासले अलग महाधिवेशन आयोजना गर्न आवश्यक नरहेको तर्क गरे भने सीता पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्य रोक्का नगर्नुपर्ने पक्षमा आवाज उठाइन्। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि बन्दसत्रमा भण्डारीलाई रोक्न नहुने सुझाव दिए ।
पार्टीभित्र देखिएका विवाद र बहसहरू सैद्धान्तिक नभई कार्यशैली र नेतृत्व हस्तान्तरणसँग सम्बन्धित रहेको वरिष्ठ उपाध्यक्ष पोखरेलले औंल्याए अध्यक्ष ओलीले प्रतिनिधि र कार्यकर्ताको चाहनाअनुसार पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे
भक्तपुरको सल्लाहघारीमा उद्घाटन भई भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनको बन्दसत्रमा नयाँ नेतृत्वका लागि उम्मेदवारको मनोनयन भइरहेको छ। एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार, मनोनयनपछि उम्मेदवारको अन्तिम नामावली आज साँझ ६ बजे प्रकाशन हुनेछ।
विद्युतीय मतदानमार्फत मतदान पुस १ गते हुने भएको छ। आयोगले मतदानका लागि ८० वटा मेसिन तयार पारेको छ। महाधिवेशनमा २,२६३ प्रतिनिधि सहभागी छन्, जसले पार्टीको आगामी नेतृत्व चयन प्रक्रिया र एकता स्थापनामा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ।




