काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस केवल निर्वाचनका लागि नभई देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताएका छन्।
ललितपुरमा जिल्ला पार्टी कार्यालय नखिपोटमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले भने, “राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी पनि हुन्छ। राष्ट्रिय शक्ति चुक्दा त्यसको मूल्य देशले चुकाउनुपर्छ। कांग्रेसले विगतमा देशलाई हिंसाबाट बाहिर ल्याएको छ र आफू हारेर पनि देशलाई जिताउने पार्टी हो।”
थापाले स्पष्ट पारे, “निर्वाचनबाट जुन पार्टीले फाइदा लिन सक्छ, तर देशलाई जिताउने काम नेपाली कांग्रेसको हो। कांग्रेसले राम्रो काम गरे मतदाताले आफैं पछ्याउनेछन्। भीडलाई उत्तेजित गर्ने काम कांग्रेसको होइन। कुशासनबाट पीडित नागरिकलाई सम्हालेर देशलाई सुशासन र विकासको उचाइमा पुर्याउने जिम्मेवारी कांग्रेसको हो।”
उनले कांग्रेसले आफ्नो कमजोरी सुधार्नुपर्ने र विगतमा पार्टी छोडेकाहरुको पुनरागमनले पार्टीलाई थप शक्ति प्रदान गर्ने बताए।
कार्यक्रममा कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठले विगतको स्थानीय चुनावमा जिल्लाभर ५६ प्रतिशत सफलता हासिल गरेको स्मरण गर्दै यसपटक थप उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।
सो अवसरमा ललितपुर महानगरपालिका–१ का वडाध्यक्ष निर्मल तण्डुकार, वडा नं १३ का गणेश केसी, सुशील सापकोटा, जितेन्द्र गजुरेललगायतले कांग्रेसमा प्रवेश गरेका थिए।




