राजनीति

एमाले महाधिवेशनमा ओली समूहको प्रारम्भिक खाका सार्वजनिक, महासचिवमा पोखरेल अघि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया तीव्र बनेसँगै अध्यक्ष केपी शर्मा ओली समूहले पदाधिकारीका उम्मेदवारबारे आन्तरिक तयारी अघि बढाएको छ । अध्यक्ष पदमा ओली तेस्रो कार्यकालका लागि पुनः प्रतिस्पर्धामा उत्रिने निश्चित भइसकेको छ ।

ओली पक्षबाट महासचिव पदमा शंकर पोखरेललाई उम्मेदवार बनाउने निर्णय लगभग टुंगिएको नेताहरूले बताएका छन् । उपाध्यक्ष पदका लागि विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम चर्चामा छ । यद्यपि प्रदीप ज्ञवालीले उम्मेदवारी नदिने संकेत गरेकाले उपाध्यक्षको सूची अन्तिम रूप लिन बाँकी रहेको बताइएको छ ।

उपमहासचिव पदमा विष्णु रिमाल, रघुवीर महासेठ र भानुभक्त ढकालबीच सहमति जुटाउने प्रयास अन्तिम चरणमा पुगेको जनाइएको छ । सचिव पदतर्फ लेखराज भट्ट, छविलाल विश्वकर्मा र पद्मा अर्याल दोहोरिने लगभग निश्चित देखिएको छ ।

यसैगरी नयाँ अनुहारका रूपमा खगराज अधिकारी, शेरधन राई, यमलाल कँडेल, हिक्मत कार्की, महेश बस्नेत र डा। राजन भट्टराई सचिव पदका आकांक्षीका रूपमा अघि बढ्ने तयारीमा छन् ।

तर उपमहासचिव र सचिव पदमा आकांक्षी धेरै रहेकाले अन्तिम नामावलीमा केही फेरबदल हुन सक्ने नेताहरूको अनुमान छ । सचिव पदमा ज्वालाकुमारी साह, शेरबहादुर तामाङ र गोरख बोगटीलगायतको दाबी कायम रहेकाले अन्तिम निर्णय अन्तिम क्षणसम्म खुला रहने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *