काठमाडौं । नेकपा एमालेको जारी ११औँ राष्ट्रिय महाधिवेशन आज निर्णायक मोडमा पुगेको छ । नयाँ नेतृत्व चयनको प्रक्रियाअन्तर्गत आज उम्मेदवारी मनोनयन, प्रारम्भिक तथा अन्तिम नामावली प्रकाशनजस्ता महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन हुँदैछन् ।
केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहान अन्तिम मतदाता नामावली प्रकाशन भएपछि उम्मेदवारी दर्ता सुरु भएको हो । उम्मेदवारी दर्ता, उजुरी तथा छानबिन प्रक्रिया पूरा गरी आजै साँझ उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्वाचन आयोगका अनुसार भोलि (मंगलबार) बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।
महाधिवेशनमा नेतृत्व चयनलाई लिएर आन्तरिक प्रतिस्पर्धा तीव्र बनेको छ । वरिष्ठ नेता ईश्वर पोखरेल पक्षले महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सार्ने निर्णय गरिसकेको छ भने उपाध्यक्ष र सचिव पदमा पनि आफ्ना उम्मेदवार टुंग्याउने क्रम जारी छ । यता अध्यक्ष केपी शर्मा ओली पक्षले भने सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी राखेको बताइएको छ ।
यसैबीच, नेता परशुराम मेघी गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी ईश्वर पोखरेल समूहबाट उपाध्यक्षका दाबेदारका रूपमा अघि बढेका हुन् । पाँच उपाध्यक्षका लागि विभिन्न नेताहरूबीच प्रतिस्पर्धा देखिएको छ ।
महाधिवेशनमा युवाको सहभागितालाई पनि चासोका साथ हेरिएको छ । केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यमा प्रवेश गर्ने तयारीमा छन् । युवाहरूको प्रतिनिधित्व, विधान संशोधन र पदाधिकारी संख्या बढाउने विषयले महाधिवेशनमा बहसको रूप लिएको छ ।
शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्रका रूपमा जारी छ । आजको उम्मेदवारी प्रक्रिया र भोलिको मतदानपछि एमालेले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व पाउनेछ ।




