काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रक्रियाबाट पन्छिनु वा चुनाव नहुने भन्दै जनतामा भ्रम सिर्जना गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताएका छन् । पोखरामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन विधिको शासनको आधारस्तम्भ भएको उल्लेख गरे ।
उनले लोकतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारे । “निर्वाचन लोकतन्त्रको आत्मा हो । चुनावबाट भाग्ने, चुनाव हुँदैन भनेर भ्रम फैलाउने र सुशासनमा आँच पुर्याउने काम कसैबाट पनि हुनु हुँदैन,” गृहमन्त्री अर्यालले भने ।
गोष्ठीमा बोल्दै उनले लुटिएका हतियार र फरार कैदीबन्दीलाई वर्तमान सुरक्षा चुनौतीका रूपमा चिनाइएको उल्लेख गर्दै ती विषयमा सरकार र गृह प्रशासन सक्रिय रूपमा लागिरहेको जानकारी दिए । राजनीतिक दलहरूले उठाएका सुरक्षा चासोलाई गम्भीरतापूर्वक लिइएको उनको भनाइ थियो ।
गृहमन्त्री अर्यालले राजनीतिक दलहरूसँग संवाद र सहकार्यमा सरकार प्रतिबद्ध रहेको पनि बताए । “सरकार वार्ता र संवादप्रति जिम्मेवार, संवेदनशील र उत्तरदायी छ । आवश्यक छलफलका लागि ढोका सधैँ खुला छ,” उनले भने ।
फरार कैदीबन्दीका विषयमा जानकारी दिँदै उनले कुल फरारमध्ये करिब ७० प्रतिशत कैदीबन्दी फिर्ता भइसकेको र बाँकीलाई नियन्त्रणमा लिन गृह प्रशासन निरन्तर क्रियाशील रहेको दाबी गरे ।




