राजनीति

कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेता चालिसेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

नेता चालिसे विघटित प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति सभापति हुन् । आयोगका अनुसार मेयर पदमा रहँदा सन्तोष चालिसेले वैधानिक आम्दानीभन्दा बढी खर्च तथा लगानी गरेको पाइएको छ । अनुसन्धानबाट चालिसे तथा उनको परिवारको कुल वैध आम्दानी ४ करोड ८८ लाख ३५ हजार ८३३ रुपैयाँ ६२ पैसा रहेकोमा कुल खर्च तथा लगानी ८ करोड ५६ लाख ८३ हजार ५९५ रुपैयाँ ३३ पैसा देखिएको छ।

आम्दानी र खर्चबीच ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ ७१ पैसा बराबरको स्रोत नखुलेको सम्पत्ति देखिएकाले उक्त रकम बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको निष्कर्षसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

अख्तियारले सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद, जरिवाना तथा बिगो जफतको मागदाबी गरेको छ । साथै, उनकी श्रीमती मन्दिरा चालिसे, छोरा सागर चालिसे, सञ्जीव चालिसे र बुहारी प्रमिला पोखरेलको नाममा खरिद तथा लगानी गरिएका सम्पत्तिहरू जफत प्रयोजनका लागि प्रतिवादी कायम गरिएको छ ।यसका साथै, सार्वजनिक पद धारण गरेपछि कानूनअनुसार पेश गर्नुपर्ने सम्पत्ति विवरण समयमै नबुझाएको अभियोगमा पनि चालिसेविरुद्ध थप कानुनी कारबाही प्रक्रिया अघि बढाइएको अख्तियारले जानकारी दिएको छ ।

चालिसे यसअघि गोकर्णेश्वर नगरपालिकाका प्रमुख थिए । २०७९ को निर्वाचनमा उनी काठमाडौं–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

साथै उनलाई काठमाडौं क्षेत्र नम्बर ३ ले हालै प्रतिनिधि सभा निर्वाचनका लागि एकल रूपमा उम्मेदवार पनि सिफारिस गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *