काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद विस्तार गरेकी छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले चार मन्त्री नियुक्त गरेका हुन् ।
नवनियुक्त चार जना मन्त्रीहरूले शुक्रबार राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ लिएका छन् । श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामले शपथ लिएका हुन् ।

श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ । इङ्नाम अधिवक्ता हुन् भने चौलागाईं जनस्वास्थ्यविद् हुन् । उनले कर्णालीबारे ‘सपादलक्ष कर्णाली’ नामक पुस्तक लेखेका छन् । त्यस्तै भण्डारी पूर्वएआईजी र श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्वकर्मचारी हुन् । अब कार्की नेतृत्वको मन्त्रिपरिषद १४ सदस्यीय भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेका यी मन्त्रीहरू (जेन–जी) प्रतिनिधित्व गर्नेहरू हुन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि भदौ २७ गते प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठित मन्त्रिपरिषद् यसअघि गत भदौ ३०, असोज ६ गते र कात्तिक ९ गते विस्तार भएको थियो ।





