देश

भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ जनाविरुद्ध मुद्धा दायर

काठमाडौं । भिजिट भिसा तस्करी प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

विहिबार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ जना र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको हो ।

अख्तियारले भट्टराईविरुद्ध ७९ लाख ८० हजार माग गरेको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन अध्यागमन अधिकृत यज्ञ राज अर्यालसँग ८ लाख, ग्रिनलाइन होलिडेज र उक्त कम्पनिका अध्यक्ष बाल कृष्ण खड्कासँग ३० लाख २० हजार, फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स र उक्त कम्पनीका संस्थापक शेयर सदस्य एवं सञ्चालक दिपक भण्डारीसँग १० लाख ६० हजार, ग्रिनलाइन होलिडेजका तत्कालीन संस्थापक शेयर सदस्य एवं सञ्चालक राम खड्कासँग ३० लाख २० हजार, कविता पौडलसँग ७९ लाख ८० हजार, खेम प्रसाद सुवेदीसँग ७९ लाख ८० हजार बिगो माग गरेको जनाएको छ ।

त्यस्तै अख्तियारले तिर्थराज भट्टराई, कविता पौडेल र खेम प्रसाद सुवेदीलाई १० करोड ३ लाख ८९ हजार ६०० बराबरको थप बिगो माग गर्दै सम्पत्ति शुद्दिकरणको मुद्धा समेत दायर गरेको छ ।

भिजिट भिसामा दुबईलगायत मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि उनी सहसचिव भट्टराई अनुसन्धानमा तानिएका थिए ।

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेत ७ जना र २ वटा प्रा.लि. उपर घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरिएको।

 

अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेतले वदनियतपूर्वक सेटिङ्ग गरी भिजिट भिसामा मानिस बिदेश पठाउँदा घुस लिई दिई भ्रष्टाचार गरेको भन्नेसमेत व्यहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराई सो कार्यालयमा २०८१/०६/२३ गतेदेखि २०८२/०२/०७ गतेसम्म प्रमुख अध्यागमन अधिकृतको रूपमा कार्यरत रहेकोमा निजले उक्त अवधिमा भिजिट तथा पर्यटन भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजातहरु सम्बन्धी जारी भएको निर्देशनको प्रक्रिया अनुशरण गरी यात्रु प्रस्थान गर्दा पेश गर्नुपर्ने सम्पूर्ण कागजातहरु अध्यागमन प्रणालीमा अपलोड गरी अभिलेखीकरण गर्नु गराउनु पर्नेमा सो समेत नगरी/नगराई भिजिट भिसामा विदेश जाने नेपाली यात्रुहरुलाई दु:ख हैरानी दिई यात्रुहरुबाट घुस/रिसवत वापत थप रकम लिई खाने खुवाउने मनसायले आफ्नो जिम्मेवारीसँग स्वार्थ बाझिने व्यक्तिहरू बाल कृष्ण खड्का तथा दिपक भण्डारी समेतसँग नियमित सम्पर्क भेटघाट गर्ने, निजहरूबाट उपहार लिने, मोबाइल लगायतका सामानहरू खरिद गराउने गरेको देखिएको, तिर्थ राज भट्टराईले पार्सलका नाममा बालकृष्ण खड्का समेतको भेनोलिभा रेष्टुरेण्टमा गई राम खड्काबाट घुस रिसवत वापतको रकम नै लिएको, बाल कृष्ण खड्का तथा दिपक भण्डारीले विभिन्न माध्यमबाट टिपाएका विदेश जाने यात्रुहरुको नाम आफ्नो डायरीमा पटक पटक टिपोट गरी सो बापत प्राप्त हुने घुस रिसवतको रकमको हिसाबकिताब राख्ने गरेको, भिजिट भिसामा विदेश प्रस्थान गरेका यात्रुहरूको बारेमा बाल कृष्ण खड्कालाई जानकारी समेत दिने गरेको, तिर्थ राज भट्टराईले आफ्नो कार्यालयको प्रशासन शाखामा काम गर्ने अध्यागमन अधिकृत यज्ञ राज अर्याललाई आफ्नो घरमा बोलाई घुस रिसवत वापतको रू.८,00,000।–(अक्षरेपि आठ लाख) दिएको, तिर्थ राज भट्टराईले कविता पौडेलको नाममा रहेको मोबाइल सिम प्रयोग गरी बदनियतपूर्वक सेटिङ्ग गरी भिजिट भिसाका यात्रुहरूको नामावली आदानप्रदान गर्न सो सिमलाई नै अधिकरूपमा प्रयोग गरेको, तिर्थ राज भट्टराईले भिजिट भिसामा विदेश जाने यात्रुहरुको पासपोर्टका इमेजहरू आफूले प्रयोग गर्ने ल्यापटपमा राखेको तथा भिजिट भिसामा विदेश जाने केही महिलाहरुको मात्र एकमुष्ट सूचीलाइ नबुझिने गरी ब्लर (Blur) गरी/गराई मोबाइलमा फोटो खिची राखेकोमा उक्त यात्रुहरुमध्ये केही यात्रुका नामावली बाल कृष्ण खड्कासमेतले पठाएको नामावलीसँग दोहोरिन गएको देखिएबाट निज तिर्थ राज भट्टराईले बदनियत राखी भिजिट भिसामा मानिस विदेश पठाउने र सो बापत घुस रिसवत प्राप्त गरेको पुष्टि हुन आएको। यसरी तिर्थ राज भट्टराईले बाल कृष्ण खड्का, दिपक भण्डारीहरूसमेतबाट विभिन्न माध्यमबाट सेटिङ्ग मार्फत भिजिट भिसामा विदेश जाने यात्रुहरुको नामावली प्राप्त गर्ने, उक्त नामावलीहरुलाई विभिन्न डायरीहरूमा यात्रुहरुका नामावली, गन्तव्य मुलुक, प्रस्थान मिति समेतका विवरण टिपी उल्लिखित पानाहरूमा सांकेतिक रूपमा हिसाबकिताब समेत राखी घुस रिसवत लिने एवं सोमध्ये केही घुस रिसवतको रकम अध्यागमन अधिकृतहरुबीच बाँडफाँड गर्ने, उक्त घुस रिसवतबाट प्राप्त ठूलो रकम कविता पौडेलको नाममा जग्गा कारोबारी समेत रहेका खेम प्रसाद सुवेदी मार्फत जग्गा खरिद गराइदिएको, तिर्थ राज भट्टराईले घुस रिसवत वापत प्राप्त रकम कविता पौडेलमार्फत खेम प्रसाद सुवेदीलाई दिएको,  खेम प्रसाद सुवेदीले कविता पौडेलबाट पटक पटक नगदै रकम लिएको र उक्त रकम लिन जादाँ तिर्थ राज भट्टराईलाई सोधेर मात्र रकम लिन जाने गरेको, खेम प्रसाद सुवेदीलाई नगदै रकम दिँदा कविता पौडेलले आफ्नो कार्यालयमा काम गर्ने मोहन अधिकारीलाई बैङ्कबाट रकम झिक्न लगाएको र बैङ्कमा रकम रहेको श्रोत देखाउनका लागि सोनाम तामाङ्गसँग सरसल्लाह गरी जग्गाको बैना फिर्ता गरेको कागज गरेको, तिर्थ राज भट्टराईले घुस रिसवत वापत प्राप्त रकम कविता पौडेल तथा खेम प्रसाद सुवेदीमार्फत परिचालन गरे गराएको तथ्य पुष्टि भएको प्रमाण एवं आधार र कारणहरुबाट तिर्थ राज भट्टराईले प्रमुख अध्यागमन अधिकृतको रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा बदनियपूर्ण तरिकाले बाल कृष्ण खड्का, दिपक भण्डारी, राम खड्का, कविता पौडेल र खेम प्रसाद सुवेदी समेतसँग सेटिङ्ग एवं एक आपसमा साँठगाँठ गरी २५७ (दुइ सय सन्ताउन्न) जना नेपाली यात्रुहरुलाई भिजिट भिसामा विदेश पठाउँदा बाल कृष्ण खड्का, दिपक भण्डारी, राम खड्कामार्फत घुस रिसवत वापतको रकम लेनदेन गरेको तथा उक्त घुस रिसवत लेनदेनमा कविता पौडेल र खेम प्रसाद सुवेदीले मतियारको कार्य समेत गरेको, अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराई प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी निर्वाह गरेको अवधिमा कविता पौडेलसँग ८५८ पटक, बाल कृष्ण खड्कासँग ११८ पटक, दिपक भण्डारीसँग २५३ पटक  र खेम प्रसाद सुवेदीसँग ५३ पटक फोनकल तथा तिर्थ राज भट्टराईको बाल कृष्ण खड्का एवं दिपक भण्डारीसँग यात्रुहरुका नामावली टिपोट गर्ने तथा घुस रिसवत एवं उपहारहरु लिनेदिने सम्बन्धमा र निज तिर्थ राज भट्टराई र कविता पौडेलबीच घुस रिसवत बापत प्राप्त रकमको परिचालन गर्ने सम्बन्धमा पटक पटक मेसेजहरू आदानप्रदान भएको देखिएको, कविता पौडेलले आफ्नो डायरीमा खेम राज सुवेदी (खेम प्रसाद सुवेदी) ले विभिन्न समयमा रकम लिएको भनी टिपोट गरेको बेहोरा खुल्न आएबाट अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईसमेतले बदनियतपूर्वक सेटिङ्ग गरी २५७ (दुइ सय सन्ताउन्न) जना नेपाली यात्रुहरुलाई भिजिट भिसामा मानिस विदेश पठाउँदा बाल कृष्ण खड्का, दिपक भण्डारी, राम खड्काले घुस रिसवत लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको सम्बद्ध कसुर गरेको पुष्टि भएको र तिर्थ राज भट्टराई, कविता पौडेल र खेम प्रसाद सुवेदीले उक्त कसुरबाट प्राप्त सम्पत्ति लुकाउने/छल्ने, बदल्ने कार्य गरी गराई एवं सो कार्यमा मद्दत दुरूत्साहन, सहजीकरण, सरसल्लाह गरी निजहरुले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ३ बमोजिमको कसुर गरेको वारदात पुष्टि भएको देखिएको। तसर्थ उल्लिखित घुस रिसवत लिई लिन लगाई भ्रष्टाचार गरेको र उक्त भ्रष्टाचार सम्बद्ध कसुर रही सम्पत्ति शुद्धीकरण कसुर समेत भए गरेको हुँदा प्रतिवादीहरु तिर्थ राज भट्टराई, यज्ञ राज अर्याल, बाल कृष्ण खड्का, दिपक भण्डारी, राम खड्का, कविता पौडेल र खेम प्रसाद सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिमको कसुर गरेको तथा प्रतिवादीहरु तिर्थ राज भट्टराई, कविता पौडेल र खेम प्रसाद सुवेदीले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ३ बमोजिमको कसुर गरेको पुष्टि भएको देखिएको ।

माथि उल्लिखित आधार कारण एवं तथ्यहरु समेतलाई हेर्दा प्रतिवादीहरुको देहाय बमोजिमका बद्‍नियत तत्व रहेको देखिन्छः

  • मिति २०८० माघ १० गतेदेखि लागु हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजातहरू भनी देहायका ६ बुँदामा उल्लिखित शर्तहरू जारी भएको देखिन्छ।
  • कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी ।
  • सम्बन्धित देशको प्रवेषाज्ञा (VISA) वा On Arrival Visa प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने
  • दुईतर्फी हवाई टिकट ।
  • भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र ।
  • भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण(नगद वा डेबिट/क्रेडिट कार्ड) ।
  • संयुक्त अरब ईमिरेटस्, बहराईन, कुवेत, कतार, ओमान र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वघोषणा गर्नुपर्नेछ । स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार (Burden of Proof) सम्बन्धित व्यक्तिमा रहने छ ।

यसरी उपर्युक्त शर्तहरूको परिपालना गर्नुपर्नेमा घुस रिसवत लेनदेन भएका यात्रुहरूलाई सहजै प्रस्थान अनुमति दिन लगाउने र भिजिट भिसामा जाने व्यक्तिहरूले पेश गरेका पासपोर्टको बायोपेज र स्वघोषणा बाहेक अन्य आधारभूत कागजातहरू अध्यागमन प्रणालीमा अपलोड गरी अभिलेखीकरण गर्नु गराउनु पर्नेमा सो नगरी जारी भएको निर्देशन समेत अवज्ञा गरी बदनियतपूर्वक सेटिङ्ग गरी भिजिट भिसामा मानिस पठाएको देखिएको ।

  • प्रस्तुत अनुसन्धानको क्रममा बदनियतपूर्वक सेटिङ्ग गरी भिजिट भिसामा विदेश पठाई नेपाल फर्केका मानिसहरू मध्ये केही मानिसहरूसँग सम्पर्क गरिएकोमा निजहरू मध्ये राम चन्द्र रिमाल, चन्द्र माया बल तामाङ, सुनिता रिषिदेवले यस आयोगमा उपस्थित भई अधिकारप्राप्त अधिकारीसमक्ष गरिदिएको सोधपुछ कागजमा निजहरूले आफूहरू विदेश जाँदा ठगिएको, नेपालमा भनिएजस्तो काम विदेशमा नलगाई अर्कै काम लगाइएको, ठगिएको रकम स्वदेश आई फिर्ता माग गर्दा फिर्ता नपाईएको र विदेशमा यातना समेत भोग्नुपरेको बेहोरा उल्लेख गर्दै दोषी उपर कारबाही होस् भन्ने माग समेत राखेको देखिएको ।
  • अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराई आफ्नो जिम्मेवारीसँग स्वार्थ बाझिने व्यक्तिहरू ग्रिनलाइन होलिडेज प्रा. लि. का सञ्चालक प्रतिवादी बाल कृष्ण खड्का तथा फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रा. लि. का सञ्चालक प्रतिवादी दिपक भण्डारी समेतसँग नियमित सम्पर्क, भेटघाट तथा उपहारहरू प्राप्त गर्न नमिल्ने नहुने कुरा जानी बुझी त्यस्ता ब्यक्तिलार्इ मोलाहिजा गर्न र भिजिट भिसामा विदेश जाने मानिसलार्इ अनिष्ठ गरी घुस रिसवत लिन त्यसो गरेको देखिएको ।
  • अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईले प्रतिवादी बाल कृष्ण खड्का तथा प्रतिवादी दिपक भण्डारीबाट एस.एम.एस. (SMS) मार्फत भिजिट भिसामा विदेश जाने मानिसहरूको नामावली प्राप्त गरी डायरीमा टिपोट गर्ने, टिपोट भएका मानिसहरूको महिला र पुरूष छुट्‌याई संख्या टिपोट गर्ने, पुरूषको संख्यालाई दशमलव २ (.2) अर्थात् रू.२०,०००।- ले तथा महिलाको संख्यालाई दशमलव ४ (.4) अर्थात रू.४०,०००।- ले गुणन गरी, सांकेतिक रूपमा हिसाबकिताब समेत राखी Clear to Balk भन्ने समेत टिपोट गरेको देखिएबाट अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईले प्रतिवादी बाल कृष्ण खड्का तथा प्रतिवादी दिपक भण्डारीबाट घुस रिसवत लिएको कसुरजन्य कार्यबाट उन्मुक्ति लिन, तथ्यलार्इ विषयान्तर ब्याख्या विश्लेषण गर्न, घुस रिसवत लिएको तथ्यलार्इ कार्यालयकै सहकर्मीहरुबाट गोप्य राख्न समेत जानी बुझी वदनियतपूर्वक यस प्रकारका सांकेतिक तथ्य, तथ्याङ्क र कोड भाषा प्रयोग गरेको डायरी समेतबाट पुष्टि भएको देखिएको ।
  • निज प्रतिवादी तिर्थ राज भट्टराईले आफ्नो कार्यालयको प्रशासन शाखामा काम गर्ने अध्यागमन अधिकृत प्रतिवादी यज्ञ राज अर्याललाई आफ्नो घरमा बोलाई रू. ८ लाख दिएको पुष्टि भै सकेको अवस्थामा दुवैले घुस रिसवत लिई बदनियतपूर्वक सेटिङ्ग गरी भिजिट भिसामा मानिस विदेश पठाए बापत प्राप्त उक्त घुस रिसवतको रकम बाँडफाँडका लागि थियो भन्ने समेत तथ्य निज प्रतिवादी तिर्थ राज भट्टराईले प्रयोग गर्ने गरेको डायरीबाट थप पुष्टि भएको देखिएको ।
  • प्रतिवादी राम खड्काले प्रतिवादी बाल कृष्ण खड्कालाई यो पैसा कस्लाई दिने हो अंकल भनी सोधेको र प्रतिवादी बाल कृष्ण खड्काले यो पैसा DG साप (तिर्थ राज भट्टराई) लाई रेष्टुरेन्टको झोलामा राखेर पार्सल दिए जस्तो गरी दिनु भनेको र केहि समयपछि प्रतिवादी तिर्थ राज भट्टराई सो रेष्टुरेन्टमा गई सो झोला लिएकोबाट प्रतिवादी तिर्थ राज भट्टराईले प्रतिवादीहरू बाल कृष्ण खड्का तथा राम खड्काबाट घुस रिसवत लिएको पुष्टि भएको देखिएको । यसर्थ प्रतिवादीहरु बीचका यस प्रकारका नियोजित तवरले एक आपसमा भएका काम ओहदा तथा जिम्मेवारी सम्बन्धी काम कर्तब्य भित्र नपर्ने, राष्ट्रसेवकको पद अनुसार सम्पादन गर्नुपर्ने काममा सोझै असर पर्ने कुरा जानी बुझी वदनियतपूर्वक उल्लिखित तवरले घुस रिसवत लिने दिने कार्य गरेको समेत पुष्टी भएको ।
  • प्रतिवादी तिर्थ राज भट्टराईले प्रतिवादी दिपक भण्डारीलाई पठाएको एस.एम.एस. (SMS) संवादहरूबाट तथा प्रतिवादी दिपक भण्डारीले अधिकार प्राप्त अधिकारीसमक्ष गरी दिएको बयान कागजबाट प्रतिवादी दिपक भण्डारीले प्रतिवादी तिर्थ राज भट्टराई र निजकी श्रीमतीलाई उपहारहरू दिने, सामानहरू खरिद गरिदिने, प्रतिवादी कविता पौडेलका लागि मोबाइल खरिद गर्नका लागि मोबाइल पसलमा भनिदिने तथा प्रतिवादी तिर्थ राज भट्टराईसँग पटक पटक भेटघाट गरी खानपिन गर्ने गरेको बेहोरा समेत पुष्टि हुन आएबाट भिजिट भिसामा विदेश मानिस पठाउँदा प्रतिवादीहरू तिर्थ राज भट्टराई, बाल कृष्ण खड्का, दिपक भण्डारी, राम खड्का बीच बदनियतपूर्वक घुस रिसवत लेनदेन हुने गर्दथ्यो भन्ने बेहोरा उल्लिखित कसुरको Modus Operandi बाट बदनियत थप पुष्टि भएको देखिएको ।
  • यसैगरी निज प्रतिवादी तिर्थ राज भट्टराईले प्रतिवादी कविता पौडेलको नाममा रहेको मोबाइल सिम अवैधानिक रूपमा आफूले प्रयोग गरी सो सिम बदनियतपूर्वक सेटिङ्ग गरी भिजिट भिसाका यात्रुहरूको नामावली प्रतिवादी बाल कृष्ण खड्का समेतसँग आदानप्रदान गर्ने कार्यमा अधिक रूपमा प्रयोग गरेको तथा प्रतिवादी कविता पौडेलको नाममा प्रतिवादी खेम प्रसाद सुवेदीमार्फत जग्गा खरिद गराई दिएको, प्रतिवादी कविता पौडेलले प्रतिवादी खेम प्रसाद सुवेदीलाई रकम दिएको भनी डायरीमा टिपोट गरेको एवम् प्रतिवादी कविता पौडेलले प्रतिवादी तिर्थ राज भट्टराईलाई तिम्रो सामान सुवेदीसँग छ, उतैबाट लिनु भनी एस.एम.एस. (SMS) पठाएको, प्रतिवादी खेम प्रसाद सुवेदी प्रतिवादी कविता पौडेलबाट पटक पटक नगदै रकम लिएको र उक्त रकम लिन जादाँ प्रतिवादी तिर्थ राज भट्टराईलाई सोधेर मात्र रकम लिन जाने गरेको खुल्न आएबाट प्रतिवादीहरू तिर्थ राज भट्टराईले घुस रिसवतबाट प्राप्त रकम बदनियपूर्वक कविता पौडेल र खेम प्रसाद सुवेदीमार्फत परिचालन गरेको पुष्टि भएको देखिएको ।
  • अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईको घर/कोठाबाट मिति २०८२/०२/०७ गते बरामद ल्यापटपको यात्रुहरुको पासपोर्टका इमेजहरु फेला परी यस सम्बन्धमा वयानको क्रममा निजलाई सोधनी गरिएकोमा निजले मैले कुनै गलत मनसाय राखेर त्यहाँ राखेको हैन, गलत मनसायले राखेको भए सबै डिलेट हुन समेत सक्दथ्यो समेत भनी उक्त पासपोर्टका कपीहरू आफुलाई प्राप्त भएको बेहोरा स्वीकार गर्दै उक्त इमेजहरु गलत मनसायले प्राप्त नभएकाले डिलेट नगरिएको हो भन्ने आशयको जबाफ अधिकार प्राप्त अधिकारीसमक्ष लेखी दिएको देखिएको । प्रस्तुत अनुसन्धानको सिलसिलामा निज तिर्थ राज भट्टराईको निवेदनसाथ यस आयोगमा प्राप्त हुन आएको निजले प्रयोग गर्ने One Plus कम्पनीको IMEI1 : 862362063087416, IMEI2 : 862362063087408 भएको मोबाइल नं. ९८५११४००१० भएको मोबाइल डिजिटल फरेन्सिक युनिटमा Digital Forensic परीक्षण गरी प्राप्त विवरणमा डायरीका पानाहरुमा यात्रुहरुको नामावली टिपोट गरी उक्त नामावलीहरू सँगसँगै साङ्केतिक हिसाबकिताबसमेत गरेका उक्त डायरीका पानाहरूको फोटो खिची आफ्नो गलत मनसायका साथ डिलेट गरेको प्रष्ट हुन आएको देखिएको ।

 

यसरी प्रतिवादीहरु तिर्थ राज भट्टराई, यज्ञ राज अर्याल, कविता पौडेल, खेम प्रसाद सुवेदी, राम खड्का, ग्रिनलाइन होलिडेज प्रा.लि. का अध्यक्ष बाल कृष्ण खड्का, फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रा.लि. का संस्थापक शेयर सदस्य एवं सञ्चालक दिपक भण्डारीसमेतले घुस रिसवत लिई दिई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 3 बमोजिमको कसूर गरेकोले देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छः

देहायः

सि.नं. नाम थर, पद र कार्यालय बिगो रू कसुर तथा सजाय मागदावी
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराई रू.७९,८०,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा सोही भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिमको कैद[1] र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिमको जरिवाना सजाय हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम बिगो रकम जफत/असुल उपर हुन, साथै,  भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २४ बमोजिम थप सजाय हुनसमेत मागदाबी लिइएको छ ।
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन अध्यागमन अधिकृत यज्ञ राज अर्याल रू.८,००,०००।– भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ङ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिमको जरिवाना सजाय हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम बिगो रकम जफत/असुल उपर हुन मागदाबी लिइएको छ ।
ग्रिनलाइन होलिडेज प्रा.लि. र उक्त कम्पनिका अध्यक्ष बाल कृष्ण खड्का रू.३०,२०,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय  (छ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो बमोजिम जरिवाना सजाय हुन, साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम बिगो रकम जफत/असुल उपर हुन मागदाबी लिइएको छ।

साथै,  कानूनी व्यक्ति ग्रिनलाइन होलिडेज प्रा.लि को हकमा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २३क. बमोजिम सजाय हुनसमेतको मागदावी लिइएको छ।

फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रा.लि. र उक्त कम्पनीका संस्थापक शेयर सदस्य एवं सञ्चालक दिपक भण्डारी रू.१०,६०,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (च) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिमको कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो बमोजिम जरिवाना सजाय हुन, साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम बिगो रकम जफत/असुल उपर हुन मागदाबी लिइएको छ।

साथै, कानूनी व्यक्ति फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रा.लि. को हकमा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा २३क. बमोजिम सजाय हुनसमेतको मागदावी लिइएको छ ।

ग्रिनलाइन होलिडेज प्रा.लि. का तत्कालीन संस्थापक शेयर सदस्य एवं सञ्चालक राम खड्का रू. ३०,२०,०००।- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (छ) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम विगो बमोजिम जरिवाना सजाय हुन, साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम बिगो रकम जफत/असुल उपर हुन मागदाबी लिइएको छ ।
कविता पौडेल रू. ७९,८०,०००|- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुरमा मुख्य कसुरदारलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिमको कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिमको जरिबाना सजाय हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम बिगो रकम जफत/असुल उपर हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदावी लिइएको छ ।
खेम प्रसाद सुवेदी रू. ७९,८०,०००|- भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्यको नगद तथा अन्य गैरकानूनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुरमा मुख्य कसुरदारलाई सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ज) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिमको कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो बमोजिमको जरिबाना सजाय हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र भ्रष्टाचार निवारण ऐन, २०५९ (पहिलो संशोधन सहित) को दफा ३ को उपदफा (१क) बमोजिम बिगो रकम जफत/असुल उपर हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह सजाय हुन मागदावी लिइएको छ।

 

 

 

 

यसरी प्रतिवादीहरु तिर्थ राज भट्टराई, कविता पौडेल, खेम प्रसाद सुवेदीसमेतले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ बमोजिमको कसूर गरेकोले देहायका प्रतिवादीहरु उपर देहाय बमोजिमको सजाय हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छः

देहायः

सि.नं. नाम थर, पद र कार्यालय बिगो रू कसुर तथा सजाय मागदावी
अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाण्डौका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराई रू.1,०३,७९,६००।- सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम सजाय[2] हुन, साथै निज प्रतिवादी तिर्थ राज भट्टराई राष्ट्रसेवक समेत भएकोले सोही ऐनको दफा 30 को उपदफा (७) बमोजिमसमेत सजाय हुन मागदावी लिइएको छ।
कविता पौडेल रू.1,०३,७९,६००।- सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (१) को देहाय (क), (ख) र (ग) बमोजिम तथा दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा ३० को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिइएको छ ।
खेम प्रसाद सुवेदी रू.1,०३,७९,६००।- सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ३ को उपदफा (२) बमोजिम तथा दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा सोही ऐनको दफा ३० को उपदफा (२) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

 

 

सहायक प्रवक्ता

गणेश बहादुर अधिकारी

विशेष अदालत काठमाण्डौबाट (मुद्दा नं.074CR-0167) को आदेश समेतका आधारमा छुट्टै अनुसन्धान भई रहेको सम्वन्धमाः

वादी नेपाल सरकार प्रतिवादी अनन्तराज सत्याल समेत भएको भष्टाचार मुद्दामा विशेष अदालत काठमाण्डौबाट (मुद्दा नं.074-CR-0167) प्रचलित कानूनी व्यवस्था अनुरुप वारदातको प्रकृति, वारदातको मिति, विषयवस्तु र संलग्न व्यक्तिहरु भिन्नभिन्न भएमा भिन्नाभिन्नै आरोपदावी ल्याउन आयोगको ध्यानाकर्षण गराइएको छ। प्रचलित कानूनी व्यवस्था अनुकूल नरहेका आरोपदावी दरपीठ गर्नु भनी यस अदालतका रजिष्ट्रारका नाउँमा निर्देशनात्मक आदेश जारी गरिदिएको छ” भनी फैसला भएको देखिएको हुँदा सोही आदेशको आधारमा देहाय बमोजिमको छुट्टाछुट्टै विषय, वारदात, समय तथा संलग्न प्रतिवादीहरु भएको सम्वन्धमा छुट्टै अनुसन्धान भई रहेको छ।

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा प्रमुख अध्यागमन अधिकृतको रूपमा तिर्थ राज भट्टराई मिति २०८१|०६|२३ देखि २०८२|०२|0७ सम्म कार्यरत रहेको देखिएको। उक्त अवधिमा जम्मा १,५३,९७४ (एक लाख त्रिपन्न हजार नौ सय चौहत्तर) जना व्यक्ति भिजिट भिसामा विभिन्न देशहरुमा गएको बेहोरा त्रि.अ.वि. अध्यागमन कार्यालयका चलानी नम्बर २३८ मिति २०८२|०५|०४ गतेको पत्रसाथ प्राप्त विवरणबाट देखिएको। उक्त १,५३,९७४ जना व्यक्तिहरू मध्ये जम्मा ४२,३५७ (बयालिस हजार तिन सय सन्ताउन्न) जना व्यक्तिहरु (श्रमका हिसाबले जोखिमपूर्ण देशहरू UAE मा २३,३४९ जना, Oman – ७,१६१ जना, Qatar – २,७१९ जना गरी जम्मा ३३,२२९ जना व्यक्तिहरू उक्त संख्या मध्ये १६,७६९ महिला रहेको) भिजिट भिसामा विदेश गएको लामो अवधि व्यतित हुँदा पनि अझैसम्म (२०८२|०४|२९ सम्म) स्वदेश फर्केको देखिएन। ती नेपाली नागरिकहरु कहाँ कस्तो अवस्थामा छन् कसरी गए, कोको मार्फत गए, Visit मा गएर हालसम्म किन फर्किएनन् लगायतको विषयहरुको सम्बन्धमा ।
  • विभिन्न ट्राभल एजेन्सी मार्फत भिजिट भिसामा विदेश गएका यात्रीहरूको Void हुने टिकटहरू एउटै Passenger Name Record (PNR) दुईवटा नम्बरको टिकट छन्। यस्तो किसिमका टिकट हुँदाहुँदै Ground Handling गर्ने कर्मचारी र अध्यागमन अधिकृतले विदेश प्रस्थानको अनुमति दिएको देखिएको, यस सम्बन्धमा Ground Handling गर्ने निकाय तथा अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका संलग्न कर्मचारीहरूको बदनियतको सम्बन्धमा थप छुट्टै अनुसन्धान गर्नु पर्ने देखिएकाले राष्ट्रसेवकको बदनियतपूर्वक संलग्नतामा सेटिङ्ग गरी भिजिट भिसामा विदेश पठाउने ट्राभल एजेन्सीहरुको सम्बन्धमा।
  • नेपालको विमानस्थल प्रयोग गरी तेस्रो देश जाने भारतीय नागरिकहरूले भारतीय दूतावासबाट नो अब्जेक्सन सर्टिफिकेट (NOC) लिनुपर्ने व्यवस्था रहेको देखिएको। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट भारतीय नागरिकहरूलाई समेत बदनियतपूर्वक सेटिङ गरी एनओसी बिना नै ती मुलुक पठाएको र सोबाट तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराई लगायत अध्यागमन कार्यालयका कर्मचारीहरूले ठूलो रकम असुली गरेको हुन सक्ने देखिएकोले के कति भारतीयहरू NOC बिना नै तेस्रो देश गए? यसबाट के कति रकम असुली भयो र यो रकम कहाँ कहाँसम्म पुग्यो लगायतको विषयमा ।
  • अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट Black List मा रहेका मानिसले प्रस्थान अनुमति लिई विदेश यात्रा गरेको भनी तत्कालीन प्रमुख अध्यागन अधिकृत तिर्थ राज भट्टराईले अधिकार प्राप्त अधिकारीसमक्ष वयानमा खुलाएको देखिएको सम्बन्धमा राष्ट्रसेवकको संलग्नताको सम्बन्धमा ।
  • विदेशको वर्किङ्ग भिसा (Working Visa) लिएका नेपाली नागरिकहरू पनि भिजिट भिसामा विदेश गएको देखिएको। त्यस्ता नेपाली नागरिकहरुलाई भिजिट भिसामा विदेश पठाउँदा भिजिट भिसामा लिने रकम भन्दा बढी रकमको चलखेल गरी विदेश पठाएको समेत अनुसन्धानको एक प्रसङ्गमा खुल्न आएको छ। यसरी वर्किङ्ग भिसा (Working Visa) लिएको मानिस किन Visit भिसामा विदेश जान्छन्, यस्तो भिसामा को को गएका छन् ? यस कार्यमा संलग्न राष्ट्रसेवकहरुको सम्बन्धमा।
  • काठमाण्डौको सामाखुशीमा संचालित नवदुर्गा गेष्ट हाउस बर्दियाकी होटल संचालिका लिला तिमिल्सेना, ९८४४८२३०४१ को मोबाइल नम्बर राखी १४९ जनासम्मको राहदानी बनाएको अनुसन्धानबाट खुल्न आएको देखिएको ।उक्त कार्यमा संलग्न राष्ट्रसेवकहरुको सम्बन्धमा ।
  • प्रमुख अध्यागमन अधिकृत तिर्थ राज भट्टराईको निवेदनसाथ प्राप्त भएको डायरी तथा नेपाल टेलिकमबाट प्राप्त CDR विवरणबाट तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्रि प्रसाद तिवारी तथा स्वकीय सचिव जनक भट्टसँग अस्वाभाविक सम्पर्क भएको खुल्न आएको सन्दर्भमा निज प्रतिवादी तिर्थ राज भट्टराईको तत्कालीन गृहमन्त्री, गृह सचिव, अध्यागमन विभागका महानिर्देशक, तत्कालीन शान्ति सुरक्षा हेर्ने महाशाखाका प्रमुखसँग गैरकानुनी रकम लेनदेन भएको हुन सक्ने देखिएकोले वदनियतपूर्वक सेटिङ गरी भिजिट भिसामा विदेश पठाउन तत्कालीन गृहमन्त्री, गृहसचिव, अध्यागमन हेर्ने गृह मन्त्रालयका महाशाखा प्रमुख, गृह मन्त्रालयका प्रशासन हेर्ने महाशाखाका प्रमुख, शाखा प्रमुख, गृहमन्त्रीका निजी सचिव, स्वकीय सचिव, गृह सचिवका सचिवालय र अन्य राष्ट्रसेवकहरु संलग्नताको सम्वन्धमा अनुसन्धान भई रहेको ।

 

 

 

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *