काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार र जेनजीबीच भएको हालको सम्झौतामाथि कडा आपत्ति जनाउँदै त्यसलाई ‘कलाबिहीन भद्दा नाटक’ भन्दै टिप्पणी गरेका छन्।
बिहीबार राजधानीमा सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकारलाई प्रणाली तथा व्यवस्थासम्बन्धी कुनै पनि प्रकारको सम्झौता गर्ने अधिकार नभएको दाबी गरे। “कुन म्यान्डेटका आधारमा सरकारले यस्तो सम्झौता गरेो ?” भन्दै उनले सरकारको वैधानिकता र क्षमतामै प्रश्न उठाए।
सम्झौतालाई सोहि स्थानमै अस्वीकार गरिएको उल्लेख गर्दै ओलीले उक्त प्रक्रिया नै अमान्य रहेको तर्क गरे। उनका अनुसार, “हिजो एउटा कलाविहीन नाटक भयो। गोबर टाँसेको सरकारले त्यहीँ च्यातिएको सम्झौतामार्फत भद्दा नाटक मात्रै देखायो।”
ओलीले आगामी दिनमा संसद् पुनःस्थापनाको विकल्प नभएको दाबी गर्दै वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने जिकिर पनि गरे। उनले निर्वाचन सम्भव नबनेको अवस्थालाई मध्यनजर गर्दै संसद पुनःस्थापनालाई ‘अन्तिम विकल्प’का रूपमा व्याख्या गरे।




