काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी नेतृत्वको कार्यशैली क्रमशः त्रुटिपूर्ण बन्दै गएको आरोप लगाउँदै आसन्न राष्ट्रिय महाधिवेशनलाई विचार र नेतृत्वबारे टुंगो लगाउने निर्णायक थलोका रूपमा लिनुपर्ने बताएका छन्।
बुधबार पत्रकारहरूसँगको अन्तर्क्रियामा बोल्दै पोखरेलले आफ्नो सम्भावित उम्मेदवारी कुनै क्षणिक भावनामा आएको होइन, पार्टी प्रक्रियाअनुसारै औपचारिक रूपमा जानकारी गराइएको दाबी गरे।
उनका अनुसार, “महाधिवेशनमा प्यानल बनाउने नबनाउने मुख्य कुरा होइन। झोंकमा उम्मेदवारी दिएको पनि होइन। पार्टीको बैठकमै छलफल गरेर, अध्यक्षसँग अवधारणा राखेर, त्यसपछि केन्द्रीय कार्यालयमा दर्ता गराएका हौँ।”
पछिल्लो समय पार्टीभित्र नेतृत्वले काम गर्ने शैली कमजोर हुँदै गएको संकेत गर्दै पोखरेलले महाधिवेशनले संगठनलाई नयाँ दिशा दिने अवसरका रूपमा उपयोग गर्नुपर्ने जोड दिए।




