देश

क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेसको भर्चुअल बैठक

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणसम्बन्धी विवाद समाधानलाई अघि बढाउन देशभरका जिल्ला सभापतिहरूसँग ‘भर्चुअल’ बैठक आयोजना गर्ने भएको छ ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिको आयोजनामा बुधबार बिहान ८ बजे ७७ वटै जिल्लाका कांग्रेस सभापतिहरूसँग भर्चुअल माध्यमबाट छलफल गर्न लागिएको हो ।

समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’का अनुसार बैठकमा पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित जिल्ला सभापतिहरू सहभागी हुनेछन् ।

भर्चुअल बैठकमा मुख्य रूपमा क्रियाशील सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण प्रक्रिया र त्यससँग जोडिएका विवादका विषयमा छलफल हुने जनाइएको छ ।

१५औँ महाधिवेशनलाई सदस्यता विवादमुक्त बनाउने लक्ष्यका साथ कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा समिति गठन गरी काम अघि बढाएको हो । समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली ‘स्नेही’ सदस्य रहेका छन् ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *