काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुराबाट फेरि उम्मेदवारी दिन तयारीमा छन् । पार्टीका नेताहरूसँगको पछिल्ला भेटघाटमा उनले यो पटक अन्तिमपटक चुनावी प्रतिस्पर्धामा उत्रने इच्छा व्यक्त गरेका हुन् ।
डडेल्धुरा कांग्रेसका सभापति भीमबहादुर साउदका अनुसार देउवाले उम्मेदवारी दिन तयार रहेको संकेत दिएसँगै जिल्ला संगठनले उनलाई सर्वसम्मत सिफारिस गर्न तयारी थालेको छ। ‘‘डडेल्धुराका जनताले सम्मानजनक रूपमा बिदाइ चाहेका छन्,’’ साउदले भने, ‘‘त्यही मनसायअनुसार उनले अन्तिमपटक चुनाव लड्छु भन्नुभएको छ।’’
यस्तै, गत सातामा महाराजगञ्जस्थित देउवा निवास पुगेका सुदूरपश्चिमका एक केन्द्रीय सदस्यले पनि देउवाले “साथीहरूले उठ्नुपर्छ भने उठ्छु” भन्दै चुनाव लड्ने इच्छा प्रकट गरेको जानकारी दिए। मंगलबार भेटेका नेविसंघ नेता भुवन भट्टले पनि देउवाले आफूलाई अन्तिम प्रतिस्पर्धाबारे स्पष्ट बताएका बताए।
कांग्रेसले यही महिनाभित्र केन्द्रका लागि सिफारिस पठाउन निर्देशन दिएको छ। नियमअनुसार मंसिर २५ भित्र प्रदेशमा कम्तीमा एक महिला सहित तीनजनाको नाम सिफारिस पठाउनुपर्ने छ। डडेल्धुरा संगठन आजै काठमाडौंबाट फर्किएर देउवाको नाम एकल सिफारिस गर्ने तयारीमा छ।
जेन–जी आन्दोलनपछि लामो समय राजनीतिक भेटघाटबाट टाढा रहेका देउवा पछिल्ला दुई सातादेखि पार्टी नेतासँग सक्रिय रूपमा भेटघाट गरिरहेका छन्। सभापति देउवासँग पूर्वप्रधानमन्त्ती तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत देउवा निवासमैँ पुगेर भेट गरिसकेका छन् । भेटमा अध्यक्ष ओलीले सभापति देउवालाई राजनीतिमा अब सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिएको स्रोतले जनाएको छ ।
मंगलबार डडेल्धुराका सभा साउद, गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्की, उपाध्यक्ष ज्ञानु सेठी देउवा, परशुराम नगरपालिका मेयर भरत बडायर जोशीलगायतका नेताहरूले देउवालाई चुनाव लड्न औपचारिक अनुरोध गरेका थिए।
साउदका अनुसार ‘‘उहाँमाथिको आक्रमण देउवालाई निरन्तर जिताउँदै आएका डडेल्धुराबासीमाथिको आक्रमण नै हो’’ भन्ने स्थानीय भावना देखिएको छ। नेताहरूले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावमा देउवाको उम्मेदवारीका लागि तयार रहेको बताए।
सभापति देउवाले २०४८ सालदेखि हालसम्म डडेल्धुराबाट सातपटक प्रतिनिधिसभा निर्वाचन जितिसकेका छन्। २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सभापति देउवाले सो क्षेत्रबाट निरन्तर निर्वाचित हुँदै आएका नेता हुन् । डडेलधुरावासीले सभापति देउवाले सुदुरपश्चिमको विकासमा ठूलो योगदान गरेको स्मरण गर्दै पुनः अन्तिम पटक निर्वाचनमा विजयी गराउने तयारीमा छन् ।
यसअघि सभापति देउवाविरुद्ध प्रतिस्पर्धामा उत्रिएका सागर ढकाल यसपटक डडेल्धुराबाट उम्मेदवारी दिने कि नदिने भन्ने विषयमा प्रष्ट छैनन् । सभापति देउवालाई सहजै जित्ने सोचका साथ गत निर्वाचनमा उम्मेदवारी दिएका ढकाललाई पछि पार्दै सभापति देउवा पुनः निर्वाचित भएका थिए ।
जेनजी आन्दोलनकारीहरुले सभापति देउवमाथि अनाहकमा निर्घात कुटपिट गरेको विषयमा कांग्रेसका नेता तथा कार्यकर्ताहरुले कडा आपति जनाउँदै आएका छन् । बिचार कहिल्यै बुढो हुँदैन् भन्ने विश्वासका साथ डडेलधुरावासीले जेनजी प्रर्दशनकारीलाई काउन्टर दिनकै लागि भए पनि यसपटक सभापति देउवालाई आगामी निर्वाचनमा सहजै विजयी गराउने बताउँदै आएका छन् ।




