देश

सशस्त्र प्रहरीका आईजी अर्याल आज बयानका लागि आयोगमा उपस्थित

काठमाडौं । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले आजदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजी) राजु अर्यालको बयान लिने प्रक्रिया सुरु गरेको छ। आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माका अनुसार अर्याललाई मंगलबार बयानका लागि आयोगमा हाजिर हुन भनिएको हो।

यसअघि आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग मंसिर १७ देखि सुरु भएको बयान प्रक्रिया पूरा गरिसकेको छ। आयोगका सदस्यहरूका अनुसार हालसम्म करिब १५० जनासँग सोधपुछ तथा बयान लिइसकिएको छ।

गौरीबहादुर कार्की नेतृत्वमा रहेको आयोगले यसअघि सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख नारायणदत्त पौडेल, डीआईजी सुरेश श्रेष्ठ, डीआईजी ओम राना र एआईजी सिद्धिविक्रम शाहसँग पनि बयान लिइसकेको छ। जेनजी प्रदर्शनका समयमा शाह कार्य विभाग प्रमुखका रूपमा रहेका थिए, हाल उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत छन्।

यस्तै, आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, अनुसन्धान विभागका उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, साथै नेपाल प्रहरीका एसपी अपिल बोहरा र कुलदीप चन्दसँग पनि बयान लिइसकेको छ।

अर्यालको बयान सकिएपछि आयोगले नेपाल प्रहरीका दानबहादुर कार्की र पूर्व चन्द्रकुवेर खापुङलाई बोलाउने तयारी भइरहेको आयोगका एक पदाधिकारीले जानकारी दिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *