देश

विकासमै ढिलाइ भइरहेको छ भने सार्वभौमसत्ता बचाउन कठिन हुन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालले तत्काल तीव्र विकासको गति लिन नसके राष्ट्रिय सार्वभौमसत्ता नै चुनौतीमा पर्ने चेतावनी दिएका छन्। पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणापत्र प्रस्तुत गर्दै उनले भदौ २४ गतेका घटनाले नेपालको स्वाधीनता कमजोर बनिरहेका संकेत स्पष्ट रूपमा देखाएको उल्लेख गरे।

सोमबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बुझाइएको दस्तावेजमा पोखरेलले नेपाल अहिले कडा भू–राजनीतिक घर्षणबीच उभिएको बताएका छन्। चीन विश्वको दोस्रो ठूलो आर्थिक शक्ति भइसकेको, भारत छिटो उदाउँदै गरेको र अमेरिका दुवै देशसँग प्रतिस्पर्धामा उभिएको भू–राजनीतिक परिस्थितिमा नेपाल अत्यन्त संवेदनशील अवस्थाबाट गुज्रिएको उनको विश्लेषण छ।

छिमेकीहरूको शक्ति प्रतिष्पर्धा र नेपालमा प्रभाव

पोखरेलका अनुसार चीन विज्ञान, प्रविधि र सामरिक क्षेत्र विस्तार गर्दै विश्व शक्तिसन्तुलनलाई रूपान्तरण गरिरहेको छ भने भारतले आफ्नो आर्थिक आधारलाई तीव्र गतिमा मजबुत बनाएको छ। यी परिवर्तनहरूबीच अमेरिकाले आफ्नो एकल नेतृत्व क्षमता जोगाइराख्न खोजेको भन्दै उनले तीनवटै शक्ति–हित नेपालसँग प्रत्यक्ष जडान भएका कारण देशको रणनीतिक स्थिति जटिल बन्दै गएको टिप्पणी गरे।

भदौ २४ ले देखायो जोखिमको वास्तविकता

उनका अनुसार आर्थिक सुस्ती, राजनीतिक अस्थिरता, राष्ट्रिय एकताको कमजोर अवस्था र तीव्र हुँदै गएको भू–राजनीतिक दबाबका कारण नेपालले स्वाधीनता र स्वतन्त्रतामा नयाँ प्रकारका जोखिम भोगिरहेको छ।
भदौ २४ का घटनाले भने ती जोखिमहरू ‘आवरणभित्र मात्र नभई वास्तविक अवस्थामा प्रवेश गर्न थालेको’ पुष्टि गरेको उनले उल्लेख गरेका छन्।

विकासमै दायित्व

नेपालले द्रुत आर्थिक विकास, संरचनागत सुधार र स्थिरता कायम गर्न नसके देश बाह्य प्रभाव वा परनिर्भरता बढ्ने उनले चेतावनी दिए।“विकासको बाटो समात्न नसकिँदा हामी थप पराधीन बन्न सक्छौँ,” दस्तावेजमा उद्धृत पोखरेलको भनाइ छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *