काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीमा सिस्टम र नीति प्रधान नेतृत्व स्थापित गर्न ईश्वर पोखरेललाई अध्यक्षको लागि अघि सारेको बताएका छन्। सोमबार ईश्वर पोखरेल समूहले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा ज्ञवालीले सामूहिक नेतृत्व प्रणाली व्यवहारमा लागू नभएको र नयाँ नेतृत्वमार्फत यसलाई व्यवहारमा ल्याउन चाहेको स्पष्ट पारे ।
उनले भने, “सामूहिक नेतृत्व नै लोकतन्त्रको उन्नत रूप हो। यो नभएको खण्डमा लोकतन्त्र सुदृढ, बलियो र टिकाउ हुन सक्दैन। नीति प्रधान वा नेता प्रधान भन्ने गम्भीर प्रश्न उठेको अवस्थामा हामी नीति प्रधान मान्यतालाई पुनर्स्थापित गर्न चाहन्छौँ।” ज्ञवालीले आलोचनाको महत्व पनि औंल्याउँदै भन्नुभयो, “आलोचना बिना कुनै पार्टीमा डेमोक्रेसी हुँदैन। जतिसुकै राम्रो काम भए पनि त्रुटि हुन सक्छ। हाम्रो पार्टीमा गल्ती भएको छैन भनी मात्र भनिनु ठीक छैन, यसको आत्मसमीक्षा आवश्यक छ।”
उनले भदौ २३ गते जेनजीले उठाएका भ्रष्टाचार विरोधी मागहरू जायज भएको स्वीकार गर्दै समर्थन गर्नुपर्ने बताए। तर, २४ गते जेनजीको नाममा भएको विध्वंस स्वीकार्य नहुने स्पष्ट पारे । त्यस्तै, एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पनि पार्टीको नेतृत्व परिवर्तनका लागि उपयुक्त समय आएको दाबी गर्दै, पोखरेल समूहमा पदाधिकारीबारे उपयुक्त समयमा टुंगो लगाइने जानकारी दिए । पाण्डेले नेतृत्व परिवर्तन दुई अवस्थाहरू—हार वा जित—मा मात्रै हुने बताए।
एमालेभित्र नेतृत्व परिवर्तन र नीति प्रधान नेतृत्व स्थापित गर्ने प्रयासले पार्टीभित्र सुधार र संगठन सुदृढीकरणको संकेत दिएको विश्लेषकहरूको मत छ।




