राजनीति

संक्रमणकालीन न्याय टुंग्याउने विषयमा गृहमन्त्री अर्यालको जोड

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले संक्रमणकालीन न्याय प्रक्रिया (टीआरसी)लाई निष्कर्षमा पुर्‍याउनु र सबै नागरिकको मानवअधिकार सुनिश्चित गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन्।

सोमबार ललितपुरमा आयोजित १७औँ राष्ट्रिय मानव अधिकार महाभेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले लोकतन्त्र र मानवअधिकार परस्पर पूरक रहेको उल्लेख गरे । उनका अनुसार लोकतन्त्र सुदृढ भएमा मात्र मानवअधिकारको प्रभावकारी कार्यान्वयन सम्भव हुन्छ।

गृहमन्त्री अर्यालले वर्तमान परिवर्तित सन्दर्भमा लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको र प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवालाहरूले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए।

उनले नेपाल मानवअधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेखित विषयहरूको कार्यान्वयनमा प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय समुदायसँग गरेका प्रतिबद्धताहरू पूरा गर्दै मानवअधिकार सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याए ।

“मानव अधिकार कुनै पनि सभ्य, समावेशी र लोकतान्त्रिक समाजको मेरुदण्ड हो। नागरिकको स्वतन्त्रता, समानता र सुरक्षित जीवन सुनिश्चित गर्नु राज्यको पहिलो दायित्व हो। तर यसमा समाजका हरेक तह, नागरिक समाज, मानव अधिकारकर्मी तथा आम नागरिकको साझा प्रयास आवश्यक छ,” उनले भने ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *