काठमाडौं। संघीय अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनका क्रममा विध्वंसकारी वा अन्य गलत गतिविधि गर्नेहरूमाथि कानुनी कारबाही हुने स्पष्ट पारेका छन् ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको भवन अनुगमनको क्रममा मन्त्री खनालले भने , “अहिले नै यस विषयमा विस्तृत टिप्पणी गर्नु उपयुक्त छैन। उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन पेश गरेपछि मात्र हामी प्रष्ट रूपमा भन्न सक्नेछौं।”
भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आगजनी र तोडफोड भएको थियो। अनुगमनको क्रममा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै उनले भने, “स्थानीय प्रशासन ऐन अनुसार कसैले गलत गतिविधि गरेको रहेछ भने कानुनी प्रक्रिया पूरा गरी कारबाही हुनेछ।”
अर्थमन्त्री खनालले मुलुकभर सरकारी कार्यालयहरूको पुनर्निर्माणमा सरकार सक्रिय रहेको पनि जानकारी दिए । “प्रदेश सरकारले खर्चको मूल्याङ्कन गरिरहेको छ। आवश्यक परे संघीय सरकारले पुनर्निर्माणको आर्थिक सहयोग गर्नेछ। कतिपय कार्यालयको पुनर्निर्माण कार्य सुरु भइसकेको छ भने केहीमा जारी छ। तीन वर्षभित्र सबै निर्माण पूरा हुने हाम्रो लक्ष्य हो,” उनले उल्लेख गरे ।
उनले आगामी निर्वाचनलाई देशको प्राथमिकता ठहराउँदै स्वच्छ र भयरहित निर्वाचन हुनेमा सबैलाई विश्वस्त रहन आग्रह गरे ।
अर्थमन्त्री खनाल आजदेखि सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटनका लागि धनगढी पुगेका थिए। उनले मुख्यमन्त्री कमल बहादुर शाहसँग भेटवार्ता गर्दै सभामुख भीम भण्डारी, आर्थिक मामिला मन्त्री बहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापा लगायतका प्रतिनिधिहरूसँग छलफल गरे ।




