काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदका लागि अलग्गै राजनीतिक प्रस्ताव तयार पारेका छन्। पोखरेलले आफ्नो प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न लागेका छन् र महाधिवेशनमा यसलाई पेस गर्ने तयारी भएको छ।
पोखरेल पक्षले तयार पारेको प्रस्तावमा जेनजी आन्दोलनअघि र पछिको राजनीतिक अवस्था, पार्टी पुनर्गठन, नवयुवाहरूको मनोभावना, पार्टीले लिनुपर्ने नीति तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिलाई समेटिएको छ। यसबाहेक भदौ २३ पछिको परिस्थितिको गम्भीर समीक्षा र नयाँ कार्यदिशाको आवश्यकता यसमा जोडिएको छ।
अध्यक्ष ओलीले महाधिवेशनमा आफ्नोबाहेक कुनै प्रस्तावमा छलफल नहुने बताइरहेका बेला पोखरेल समूहले फरक मत प्रस्तुत गर्दै प्रस्ताव अध्यक्षलाई देखाउने तयारी गरेको स्रोतले जनाएको छ।
महाधिवेशनमा ईश्वर पोखरेललाई अध्यक्षमा अघि सारेर प्रतिष्पर्धामा उत्रिन तयारी गर्दै उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेसहित अन्य प्रभावशाली नेताहरू पनि सक्रिय भएका छन्। यसअघि भदौ २०–२२ गते भएको विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव र विधान संशोधन पारित गरिसकेको भए पनि पोखरेल समूहले थप सुधार र छलफल आवश्यक रहेको बताउँदै आएको छ।
उक्त कार्यक्रमका लागि बागबजारस्थित होटल हार्दिकमा उपाध्यक्षहरू ज्ञवाली, पाण्डे, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, कर्ण थापा, पर्शुराम गुरुङ, ठाकुर गैरे, गणेश पहाडी, उषाकिरण तिमिल्सिना र विनोद ढकाल उपस्थित छन्।
पोखरेलको प्रस्ताव र समूहको सक्रियताले महाधिवेशनअघि एमाले भित्रको ध्रुवीकरण बढाएको देखिएको छ।




