काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले ११४ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ । आयोगले दर्ता प्रक्रिया पूरा गरेका दलका निवेदनको जाँचबुझपछि चुनावी प्रतिस्पर्धाका लागि योग्य ठहर गर्दै चिन्ह वितरण गरेको हो ।
आयोगका अनुसार हाल देशभर १ सय ४३ दल दर्ता भए पनि निर्वाचनमा भाग लिन १ सय २० दलले मात्र निवेदन दिएका थिए । तीमध्ये ६ दलका निवेदन विभिन्न कारणले अस्वीकृत वा फिर्ता भएपछि अन्ततः १ सय १४ दललाई निर्वाचन चिन्ह प्रदान गरिएको हो ।
आगामी निर्वाचनमा १ सय २ दलले आफ्नै छुट्टै चिन्हमा उम्मेदवारी दिनेछन् भने पाँच समूहमा आबद्ध १२ दल संयुक्त ९एकल० चिन्हमार्फत चुनावी प्रतिस्पर्धामा उत्रनेछन् । यसपटकको मतपत्रमा जम्मा १ सय ७ वटा निर्वाचन चिन्ह समावेश हुने आयोगले जनाएको छ ।
अघिल्ला नतिजाका आधारमा ११ दललाई प्राथमिक क्रमसंख्या
२०७९ को समानुपातिक निर्वाचनको परिणामका आधारमा ११ प्रमुख दलको क्रमसंख्या स्वचालित रूपमा निर्धारण गरिएको छ । जसअनुसार नेकपा (एमाले) ले ‘सूर्य’, नेपाली कांग्रेसले ‘रूख’ र नेकपा (माओवादी केन्द्र) ले ‘पाँचकुने तारा’ चिन्ह पाएका छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी ‘घण्टी’, राप्रपा ‘हलो’, जसपा ‘ढल्केको छाता’, जनमत पार्टी ‘लाउडस्पिकर’, नागरिक उन्मुक्ति पार्टी ‘ढकिया’, लोसपा ‘साइकल’, नेपाल मजदुर किसान पार्टी ‘मादल’ र राष्ट्रिय जनमोर्चा ‘गिलास’ चिन्हमा मैदानमा उत्रँदैछन् ।
नयाँ दलका पनि विविध चिन्ह
१२ औँ क्रमसंख्यादेखि नयाँ दलहरूका चिन्ह राखिएका छन् । देश विकास पार्टीले ‘लौरो’, प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘खुलेको एकल आँखा’ पाएका छन् ।
यसपटक चर्चामा रहेका नयाँ दलहरूमा ३३ नम्बरमा राष्ट्रिय परिवर्तन पार्टीको ‘बासुरी’, ५१ नम्बरमा श्रम संस्कृति पार्टीको ‘अँजुलीमा रहेको माटो’, ६४ नम्बरमा उज्यालो नेपाल पार्टीको ‘बलिरहेको बिजुलीको चिम’ रहेका छन् ।
त्यस्तै, ९१ नम्बरमा समुन्नत नेपाल पार्टीको ‘हात मिलाएको महिला–पुरुष’ चिन्ह परेको छ भने १०० नम्बरमा हाम्रो नेपाल पार्टीले ‘लाइक’ चिन्ह पाएको छ । अन्तिम अर्थात् १ सय ७ नम्बरमा जनता लोकतान्त्रिक पार्टी नेपालको ‘भैँसी’ चिन्ह रहेको छ ।
दुई दल अयोग्य, एकले फिर्ता लियो निवेदन
आयोगले जनाएको अनुसार ज्ञानबहादुर तामाङ नेतृत्वको जनप्रजातान्त्रिक पार्टी र खगेन्द्रराज अवस्थी नेतृत्वको अखण्ड सुदूरपश्चिम पार्टीको निवेदन अयोग्य ठहर भएर खारेज गरिएको छ । जनजागरण पार्टीले भने निर्वाचनमा भाग लिन दिएको निवेदन स्वेच्छाले फिर्ता लिएको आयोगले जनाएको छ ।
अब आगामी फागुन २१ गते ११४ राजनीतिक दल विभिन्न १०७ निर्वाचन चिन्हसहित प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।




