काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई नलिन्चोक हेलिपोर्ट निर्माणमा भएको भनिएकाे अनियमितता प्रकरणमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
भक्तपुरको नलिन्चोकमा निर्माणाधीन हेलिपोर्टमा भ्रष्टाचार भएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। त्यसपछि आइतबार विशेष अदालतमा भएको थुनछेक बहसपछि अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले अधिकारीलाई थुनामा पठाउने आदेश दिएको प्रहरीले जनाएको छ। आदेश जारी भएपछि उनलाई दिन डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।




