काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थल अनियमितता प्रकरणमा पाँच तत्कालीन मन्त्रीसहित ५५ जना प्रतिवादीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रतिवादीमा तत्कालीन अर्थमन्त्री डा. रामशरण महत, माओवादी नेता तथा १२ वर्षअघि निधन भएका पोस्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्य समावेश छन्। त्यस्तै, १० जना तत्कालीन सचिव र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि विपक्षी बनाइएको छ। निर्माण कम्पनीसमेत अदालतको सूचीमा रहेको छ।
मुद्दामा करिब आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। विशेष कुरा के छ भने डा. महत हाल ‘अल्जाइमर्स’ रोगका कारण स्मरणशक्ति गुमाएका छन् भने बोगटीको ०७१ साल भदौ ३० मा निधन भइसकेको छ।
प्रतिवादीमध्ये डा. महतलाई विदेशी बैंकमा खाता खोलेर भ्रष्टाचार गरेको आरोप संसद्मा लागेको थियो। तर छानबिनले उनलाई सफाइ दिएपछि उनी पुनः पदबहाली भएका थिए। उनले आर्थिक नीतिमा सुधार गर्दै निजी क्षेत्रको भूमिका बढाएर अर्थतन्त्र सक्रिय बनाएको मान्यता पाएका छन्।
रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपक अमात्यजस्ता अन्य मन्त्रीरनेताहरू पनि उक्त प्रकरणमा तानिएका छन्। अख्तियारले यस मुद्दा मार्फत पोखरा विमानस्थलमा भएको भनिएको अनियमितता र भ्रष्टाचारको सत्यतथ्य उजागर गर्ने प्रयास गरेको छ।




