देश

अंशु गौतम हत्या प्रकरणमा मोड–छिमेकी पक्राउ, अनुसन्धान अन्तिम चरणमा

काठमाडौं । मोरङको लेटाङ नगरपालिका–२ की १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणले नयाँ मोड लिँदै प्रहरी अनुसन्धान निर्णायक चरणमा पुगेको छ। दुई महिनादेखि जारी अनुसन्धानका क्रममा प्रहरीले एक छिमेकी पुरुषलाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।

अंशु असोज २१ गते दिउँसो घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन्। कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र उनको क्षतविक्षत शव फेला परेको थियो, जसले स्थानीय क्षेत्र नै आक्रान्त बनाएको थियो।

करिब ५० वर्ष उमेरका सो छिमेकीलाई केही दिनअघि नै पक्राउ गरिएको भए पनि प्रहरी प्रशासनले औपचारिक रूपमा पुष्टि गरेको छैन। मोरङ प्रहरी प्रमुख कबित कटवालले अनुसन्धान लगभग अन्तिम चरणमा पुगेको बताउँदै केही संवेदनशील विवरण खुल्न बाँकी रहेको जानकारी दिए।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्तिले अंशुको हत्या गरेको प्राथमिक रूपमा स्वीकार गरिसकेका छन्। हत्या किन गरियो भन्ने मुख्य तथ्य भने प्रहरीले सार्वजनिक गरेको छैन, तर पारिवारिक रिसिइबीकै आधारमा घटनाको जरो रहेको प्रारम्भिक अनुमान छ।

घटनाको निष्कर्षमा पुग्न जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केन्द्रीय अनुसन्धान ब्युरो (CIB) सम्मिलित संयुक्त टोलीले अनुसन्धान सञ्चालन गरिरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *