काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सरकार ढाल्ने वा समिकरण फेरबदल गर्ने खेलमा नभएको प्रष्ट पारेका छन्। फागुनमा चुनावको संभावना कम भए पनि अब हुने निर्वाचनमा एमाले बहुमतसहित फर्किने दाबी उनले गरेका छन्।
पार्टीको मुखपत्र नवयुगको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेमाथि निरन्तर हमला भए पनि पार्टीलाई कसैले परास्त गर्न नसक्ने बताएका छन्। उनले भने, “महाभारतको अभिमन्यूलाई एक्लै घेरा हालेर आक्रमण गरेजस्तै एमालेमाथि हमला भइरहे पनि हामीले धोबीपाट हानेर त्यसलाई पछि पार्नेछौं।”
ओलीले स्पष्ट पारे, “एमाले समिकरण बदल्ने वा सरकार ढाल्ने खेलमा छैन। यो सरकारले फागुन २१ मा चुनाव त गराउँदैन, तर अब हुने निर्वाचनमा एमाले बहुमतसहित फर्किनेछ। अरु पुराना पार्टी के गर्छन् मलाई थाहा छैन, तर एमाले फर्किन्छ।”
उनले २०७३ र २०७८ सालमा एमालेमाथि भएका राजनीतिक हमलाको स्मरण गर्दै जनमतबाट पार्टीले सत्तामा फर्किएको उदाहरण पेश गरे। ओलीले सरकारको वर्तमान कार्यशैलीलाई आफूले जिम्मेवारी पाए अनुसार नभएको आरोप लगाउँदै फेरि पुराना नेताहरूको भरमा सरकार नबन्ने टिप्पणी पनि गरेका छन्।
अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको र अदालतबाट पुनर्स्थापना हुने विश्वास व्यक्त गर्दै आगामी चुनावमा पार्टीको विजय सुनिश्चित हुने बताए।




