काठमाडौं । चन्द्रनिगाहपुरमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि पीडित परिवारले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
शुक्रबार साँझ भएको दुर्घटनामा ४० वर्षीय नागेन्द्र पटेल, वृन्दावन नगरपालिका–२, विश्रामपुरको, मृत्यु भएको हो। घटना चन्द्रपुर नगरपालिका–६ स्थित मोतियाही पुल नजिकको चपुर–गौर खण्डमा भएको थियो। दुर्घटनामा बस नम्बर ना४ ख ६५४७ र मोटरसाइकल नम्बर ना ३९ प ४२४० ठोक्किएका थिए।
दुर्घटनापछि मृतकका परिवार र बस सञ्चालकबीच क्षतिपूर्तिको विषयमा छलफल भएको थियो। तर बस सञ्चालकको तर्फबाट कानुनले तोकेकोभन्दा बढी रकम नदिने अडान राखेपछि परिवारले सडक अवरुद्ध गर्ने निर्णय गरेको हो।
राजमार्ग बन्द हुँदा सयौं सवारी साधन अलपत्र परेका छन्। मृतकका आफन्तले विरोध स्वरुप सडकमा टायर बालेर बसेका छन्।




