काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेका आर्थिक र सामाजिक सुधार योजनालाई अव्यावहारिक र तथ्यहीन भन्दै आलोचना गरेका छन्।
मन्त्री पुनले सामाजिक सञ्जालमार्फत दुर्गा प्रसाईंलाई सम्बोधन गर्दै भनिएका योजनाहरू हावादारी र जनतालाई भ्रममा पार्ने खालका रहेको टिप्पणी गरेका छन्। उनले लेखेका छन् कि अहिले शिक्षक भत्ता दिन नसक्नु, कक्षाकोठा अभाव भएका विद्यालयलाई सहयोग दिन नसक्नु जस्ता यथार्थ समस्या देख्दा प्रसाईंले गरेको छ लाख जनतालाई कालो सूचीबाट हटाउने, सेना–प्रहरीको तलब मासिक रु। एक लाख बनाउने र रु। २० लाखसम्म ऋण मिनाहा गर्ने योजना कसरी व्यवहारिक हुने हो भन्ने प्रश्न उठ्छ।
शिक्षामन्त्री पुनले दुर्गा प्रसाईंलाई ‘धनको देवता कुवेर होइन’ भन्दै यस्तो योजनाले बैंकमा रहेको जनताको पैसा डुब्न सक्ने खतरा रहेको चेतावनी दिएका छन्। उनले थपे, “छापाखानामा किताब छापे जस्तै पैसा छाप्न पाइँदैन, यस्ता हावा कुरा गरेर जनता झुक्किनु हुँदैन।”
मन्त्री पुनले यसअघि रेल, पानीजहाज ल्याउने वा नेपाललाई सिंगापुर बनाउने जस्ता अव्यावहारिक आश्वासनको उदाहरण दिँदै भने, तथ्य र यथार्थ बुझेर मात्र योजना बनाउनु आवश्यक रहेको सन्देश दिएका छन्। उनको भनाइमा, “कुरा बुझेर, तथ्यको आधारमा मात्र जनतासँग प्रतिवद्धता जनाउनुपर्छ। अव्यावहारिक योजना घोषणा गर्नु हाँसोको पात्र बनाउँछ।” यस आलोचनासँगै दुर्गा प्रसाईंका योजनालाई व्यावहारिक दृष्टिले समीक्षा गर्ने दबाब बढेको छ।




