काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचन मुलुकलाई स्थिरतर्फ डोर्याउने अपरिहार्य विकल्प भएको बताएका छन्। ललितपुर महानगरपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले नयाँ पुस्ताको चाहना र आकांक्षा बुझेर राजनीतिक नेतृत्वले आफूलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता जोड दिए।
राष्ट्रपतिले भने, “यही व्यवस्थामा हाम्रो भविष्य सुरक्षित छ भन्ने भावना जनतामा जगाउनुपर्छ। नयाँ पुस्ताको सोच, अपेक्षा र शैलीसँग मेल खाने नेतृत्व बन्नु आजको साझा जिम्मेवारी हो।” सुशासन, पारदर्शिता र छरितो सेवा प्रवाहमार्फत देशलाई अगाडि बढाउन सकिन्छ भन्दै उनले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने दायित्व पनि राजनीतिक नेतृत्वकै काँधमा रहेको स्पष्ट पारे।
उनका अनुसार फागुन २१ को निर्वाचनले युवा पुस्ताको चाहना—विकास, सुशासन र स्थिरतामाथि विश्वास पैदा गर्ने अवसर दिनेछ। पूर्वाधार निर्माणसँगै जनताको जीवनस्तर उकास्ने काममा राज्य गम्भीर हुनुपर्ने उनले उल्लेख गरे। साथै नागरिकको आवाज सुन्न घरदैलोमै पुग्ने लोकतान्त्रिक आचरण नै राम्रो शासनको आधार हुने पनि राष्ट्रपति पौडेलले स्मरण गराए।




