काठमाडौं । हालै एकीकृत संरचनासहित बनेको नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचन लक्षित गर्दै पार्टी पंक्तिलाई सक्रिय बनाउने उद्देश्यले अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेको छ। अपानीमार्फत पार्टी एकताको निर्णय, घोषणा पत्र, सहमतिहरू र आगामी कार्ययोजनाबारे स्पष्ट जानकारी गराउँदै देशभर संगठनलाई चुनावी तयारीमा उत्रिन आह्वान गरिएको छ।
निर्देशनमा जेनजी पुस्ताको भावना आत्मसात् गर्दै निर्वाचन अभियान सञ्चालन गर्न विशेष जोड दिइएको छ। “निर्वाचन फागुन २१ मा छ, विकल्प छैन—सबै नेता–कार्यकर्ता तत्काल आफ्नो क्षेत्रमै खटिएर तयारीमा जुट्नुपर्छ” भन्ने उल्लेख छ।
गत कात्तिकमा नेकपा माओवादी केन्द्र, नेकपा एस र अन्य घटकहरू एकताभई बनेको नयाँ पार्टीमा कात्तिक २६ मा भीम रावल नेतृत्वको मातृभूमि अभियान मिसिएको थियो। त्यसपछि सातै प्रदेशमा आयोजित सन्देश सभा अहिले निरन्तर हुँदैछ।
सांगठनिक समायोजन र जिम्मेवारी बाँडफाँड
पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले जारी गरेको सर्कुलरमा संगठन पुनर्संरचनाको खाका प्रस्तुत गरिएको छ। प्रदेश, जिल्ला र पालिकास्तरमा इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजक तोक्दै सबै तहका समितिहरू समायोजन गर्ने बताइएको छ। त्यस्तै केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गरी जिम्मेवारी स्पष्ट बनाउने तयारी भइरहेको सर्कुलरमा उल्लेख छ।
आधुनिक शैलीमा प्रचार–प्रसार गर्ने निर्देशन
पार्टी एकताको औचित्य, नीति–कार्यक्रम, सिद्धान्त र घोषणापत्रलाई आम कार्यकर्ता तथा जनतामाझ पुर्याउन व्यापक प्रचार अभियान चलाउन भनिएको छ। सर्कुलरले सामाजिक सञ्जाल, अनलाइन माध्यम, पर्चा, टिसर्ट, क्याप, पोष्टर, स्टिकरलगायतका आधुनिक माध्यम प्रयोग गर्दै पार्टीको चुनाव चिह्न ‘पाँच कुने तारा’ को व्यापक प्रचार गर्न निर्देशन दिएको छ। अभियानलाई ‘पुराना र भद्दा’ शैलीबाट हटाएर व्यवस्थित, समसामयिक र भावनात्मक रूपमा प्रभावकारी बनाउने लक्ष्य लिइएको बताइएको छ।
राजनीतिक संवाद र समन्वय पनि अघि सारिने
निर्वाचन अनुकूल वातावरण निर्माण गर्न सबै तहमा राजनीतिक दलहरूसँग नियमित बैठक, छलफल र संवाद गर्ने उल्लेख छ। साथै, केन्द्रदेखि स्थानीय तहसम्म सरकार, निर्वाचन आयोग र सुरक्षा निकायहरूसँग आवश्यक समन्वय गर्न पनि निर्देशन दिइएको छ। पार्टीका अनुसार एकताको भावना मजबुत पार्दै संगठन, प्रचार र चुनावी तयारीलाई एकैसाथ अघि बढाउने लक्ष्यसहित अपानी जारी गरिएको हो।




