देश

दिगो निर्माणको मागसहित भोटेकोशी स्थानीयद्वारा अरनिको राजमार्ग ठप्प

काठमाडौं । भोटेकोशी गाउँपालिका–२ का स्थानीयवासीले सडक निर्माणमा देखिएको लामो ढिलाइ र पहिरो जोखिमलाई मुख्य कारण देखाउँदै शनिबार बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध गरेका छन्।

स्थानीयले पहिरो व्यवस्थापनमा सरकारी उदासीनता टोलीसमक्ष बारम्बार औंल्याए पनि ठोस प्रगति नभएको आरोप लगाएका छन्। दर्जनौँ गाउँ पहिरोको जोखिममा परिरहँदा सरकार र सडक विभागले दीर्घकालीन समाधानमा ध्यान नपुर्‍याएको भन्दै जनप्रतिनिधि तथा स्थानीय अगुवाहरू आन्दोलित बनेका हुन्।

इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख, प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार स्थानीयले कालो ब्यानरसहित सडक रोक्दै राजमार्ग पूर्णरूपमा बन्द गरेका छन्। ब्यानरमा ‘अब हामी मौखिक आश्वासन मान्दैनौं, तत्काल दीर्घकालीन समाधान देऊ’ भन्ने माग स्पष्ट रूपमा उल्लेख गरिएको छ।

गत वर्षको भीषण वर्षातपछि अरनिको राजमार्गका भोटेकोशी क्षेत्रअन्तर्गतका विभिन्न स्थानमा पहिरो खस्दा सडक महिनौं अवरुद्ध भएको थियो। दशैंअघि आंशिक रूपमा खुलाइएको यो खण्डलाई तत्कालीन अवलोकनपछि सडक विभागले कात्तिक मसान्तभित्र दिगो संरचना निर्माण गर्ने आश्वासन दिएको थियो। तर, बजेट अभाव देखाउँदै विभागले काम सुरु नगरेको स्थानीयको आरोप छ।

भोटेकोशी–२ का वडाध्यक्ष कुमार श्रेष्ठ भन्छन्, “जोखिम मोडमा रहेका गाउँ पहिले जोगाएर बलियो सडक बनाउनुपर्ने हाम्रो माग हो। कात्तिक मसान्तसम्म काम सुरु गर्ने भनेका अधिकारीले बजेट नै सुनिश्चित गरेनन्। अन्ततः स्थानीय आन्दोलनमा उत्रिन बाध्य भए।”

गुम्बाडाँडा, मिलन बजार, चौकीडाँडा, ताक्पासा, कुदुङ, तार्तुङ, क्युसा, छेर्माङ, तामाङ गुम्बा लगायतका बस्तीहरू पहिरोको उच्च जोखिममा रहेको स्थानीयको दाबी छ। उनीहरूका अनुसार कुनै पनि बेला ठूलो विपद्को सम्भावना बढ्दै गएको छ, त्यसैले सरकार र सडक विभागलाई दिगो समाधानको काम तत्काल सुरु गर्न दबाब दिनु परेको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *