देश

जेनजी आन्दोलनपछि देशमा अशान्ति हिंसा–फैलाउने सक्रिय गिरोह को हुन् ?

काठमाडौं । जेनजी आन्दोलनपछि मुलुकभर त्रास, अविश्वास र अस्थिरताको बाक्लो बादल मडारिएको छ। आन्दोलनपछिका घटनाहरूले राजनीतिक, प्रशासनिक र सुरक्षात्मक संरचनामा गहिरो प्रश्न मात्रै उठाएका छैनन्, हिंसा र अत्यधिक उत्तेजना फैलाउने शक्ति आखिर कहाँबाट सक्रिय छन् भन्ने बहसलाई पनि सतहमा ल्याएका छन्।

यही सिलसिलामा अख्तियार प्रमुख प्रेम कुमार राईसहित दस हाइप्रोफाइल व्यक्तिलाई ज्यान मार्ने धम्की दिँदा मुलुक फेरि एकपटक सुरक्षा जोखिमको संवेदनशील मोडमा पुगेको छ। सामाजिक सञ्जालमार्फत आफूलाई ‘उग्रवादी समूह’का अध्यक्ष दाबी गर्ने युवकले जारी गरेको भिडियो र त्यसपछि देखिएको गतिविधिले राज्य संयन्त्र नै सतर्क बनेको छ।

भिडियोमार्फत सार्वजनिक चेतावनीमा युवकले ‘१० दिनभित्र सफाया गर्ने’ जस्ता अभिव्यक्ति प्रयोग गरेका थिए । उनले राईसहित पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की, पूर्व नेपाल तेल निगमका प्रमुख गोपालबहादुर खड्का, पूर्वमन्त्री रमेश लेखक, कांग्रेस नेतृ आरजु राणा, पूर्वआईजीपीहरू, सुरक्षा अधिकारी र व्यवसायी दुर्गा प्रसाईंलाई प्रत्यक्ष लक्षित गरेर सो पत्र अख्तियारलाई समेत पठाएका थिए ।

उनी नेपालमै नभई भारतमा रहेको र आफूलाई प्रहरीले खोजिरहेको बताए पनि उसको वास्तविक पहिचान, ठेगाना र पृष्ठभूमि अझै अस्पष्ट छ—यही अनिश्चितताले सुरक्षालाई थप जटिल बनाएको प्रहरी अधिकारीहरू बताउँछन्। उपत्यका प्रहरी परिसरले तीनजनालाई नियन्त्रणमा लिएर सोधपुछ तीव्र पारेको छ। यी व्यक्तिहरू उक्त युवकसँग डिजिटल माध्यममा नियमित सम्पर्कमा रहेको प्रारम्भिक विश्लेषणले देखाएको बताइएको छ।

को हुन् उच्च पदस्थलाई धम्की दिने प्रकाश पाठक ?

काभ्रेपलाञ्चोकका ३३–३४ वर्षीय प्रकाश पाठक अहिले देशभर चर्चामा छन्। ‘एक्स्ट्रीमिस्ट ग्रुप अफ नेपाल (ईएनजी)’का नाममा जारी दुई पृष्ठे धम्कीपत्रमा आफूलाई चेयरम्यान भनेर उल्लेख गरेपछि उनी प्रहरी अनुसन्धानको केन्द्र बनेका हुन्।

प्रकाश काभ्रे तेमाल–१ सर्स्युंखर्कका स्थायी बासिन्दा हुन्। परिवारका अनुसार उनी भारतमा डाक्टर अध्ययन गर्न गएका थिए। विद्यालयदेखि उच्च शिक्षा काठमाडौं हुँदै भारत पुगेसम्म परिवारले नै खर्च गरेको बताइन्छ। तर, पछिल्ला तीन वर्षदेखि उनी परिवार, नातागोता र आफन्तसँग सम्पर्कविहीन छन्। उनका मामा उमेश खकुरेलका अनुसार प्रकाश सामान्य र अनुशासित थिए, तर “कहाँ छन्, के गर्दै छन् भन्नेबारे थाहा छैन।” भाइ प्रदीपले पनि डेढ–दुई वर्षदेखि दाजुसँग कुनै संवाद नभएको बताए। उनका सामाजिक सञ्जाल खाताहरू पनि लामो समयदेखि निष्क्रिय छन्।

उच्च पदस्थ १० व्यक्तिलाई ज्यानसम्मको धम्की दिँदै पत्र र भिडियो सार्वजनिक भएपछि प्रहरी सक्रिय भएको छ। प्रकाशसँग डिजिटल वा व्यक्तिगत सम्पर्क देखिएका दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। धम्कीपत्रमा अख्तियार प्रमुख प्रेमकुमार राईदेखि पूर्वगृहमन्त्रीहरू, पूर्वआईजीपी, व्यवसायी दुर्गा प्रसाईं लगायतको नाम उल्लेख छ। अहिले प्रहरी, सुरक्षा निकाय र अख्तियार सबै यस घटनालाई उच्च संवेदनशीलता पूर्वक अनुसन्धान गरिरहेका छन्। भदौ २३–२४ मा देशले देखेको हिंसा आधुनिक नेपालको इतिहासकै सबैभन्दा अराजक र विनाशकारी क्षण बन्न पुग्यो।
दुई दिनमै—७६ जनाको मृत्यु,सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतजस्ता राज्यका संवेदनशील संरचनामा आगजनी प्रयास,प्रहरी र प्रशासनिक अधिकारीमाथि समन्वित आक्रमण,कैदीहरू जेलबाट फरार,निजी र सार्वजनिक सम्पत्तिमा व्यापक आगलागी र तोडफोड,नेताहरूका घर छानिछानी लक्ष्यबद्ध आक्रमण,बाह्य शक्तिको संलग्नतासम्बन्धी आसंका ।

जेनजी आन्दोलन नेपालमा राजनीतिक चेतना र अधिकारको मागको रूपमा सुरु भए पनि त्यसका क्रममा हिंसा फैलाउने घटनाले विवादित अवस्था सिर्जना गर्‍यो। प्रर्दशन शान्ति र न्यायको प्रतीक हुनु पर्ने भए पनि आन्दोलनको क्रममा कतिपय समूहले उनै उच्च पदस्थ व्यक्तिहरूलाई निशाना बनाउँदै धम्की र हिंसा मच्चाए।

यो घटनाले देखाउँछ कि शक्ति र जिम्मेवारी भएका व्यक्तिहरूको सम्मान नगरी, राजनीतिक उद्देश्यमाथि हिंसा प्रयोग गर्ने प्रवृत्ति समाजमा अस्थिरता र त्रास फैलाउँछ। शान्तिपूर्ण आन्दोलन र कानूनी ढाँचाभित्रको राजनीतिक प्रतिस्पर्धा मात्र लोकतन्त्रको रक्षा गर्न सक्दछ। जेनजी आन्दोलनमा हिंसा मच्चाउनेहरू आफ्नो उद्देश्य प्राप्त गर्न नसक्ने भए पनि, यसले देशको शान्ति, सुरक्षा र लोकतान्त्रिक मूल्यमा गम्भीर चुनौती प्रस्तुत गरेको छ। कानुन र अनुशासनको सीमाभित्रै संघर्ष गर्नु नै लोकतान्त्रिक अभ्यासको सही मार्ग हो, हिंसा र धम्कीले मात्र देशलाई अस्थिर बनाउँछ।

राजतन्त्र–गणतन्त्रबीचको ध्रुवीकरण,

दलहरूलाई निर्वाचनमा जान नदिने अभियान,र राज्य संयन्त्र नै धरासायी बनाउने प्रयास,यी सबले आन्दोलनलाई मात्र आफ्नो स्वरुपमा नराखेर एउटा गहिरो राजनीतिक–सामाजिक असन्तुष्टिको अराजक विस्फोटका रूपमा उभ्याएको छ। आन्दोलनका संरचनाभित्र तिब्बती, भारतीय र विविध समूहका कार्यकर्तासम्म संलग्न भएको प्रारम्भिक छानबिनले देखाएको अवस्था झन् चुनौतीपूर्ण थियो। केही समूहले “मानवता–विरोधी अभियान”का रूपमा हेरिने काम—आगो लगाउने, धम्की, व्यापक लुटपाट—समन्वयका साथ गरेका दृश्यहरूले मुलुकको आन्तरिक सुरक्षाको कमजोरीलाई उजागर गर्न खोजेको छ ।

राजनीतिक नेतृत्वको असफलता कि सुनियोजित अराजकता ?

जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपरेको अवस्था देशको राजनीतिक नेतृत्व कमजोर भएको संकेत हो कि, आन्दोलन भित्रै कतै गहिरो ‘सुनियोजित उग्रता’ थियो भन्ने प्रश्न अझै टुङ्गोमा पुगेको छैन। अब फेरि उग्रवादी समूहको नाममा धम्की खेल भइरहेका बेला—कुन शक्ति राजनीतिक अस्थिरताबाट लाभ उठाउन खोजिरहेको छ ?कसले आन्दोलनलाई हिंसात्मक रूपान्तरण गरायो र पुनः गराउन खोजिरहेको छ ? कुन बाह्य वा आन्तरिक समूहले उग्रताको मनोविज्ञान थोपर्ने काम गरिरहेको छ ? यी प्रश्नको जवाफ राज्यले अझै स्पष्ट रूपमा दिन सकेको छैन।

सुरक्षा संयन्त्रको सतर्कता : जोखिमको चाङ बढ्दै

उपत्यका प्रहरी कार्यालयले दसवटै व्यक्तिको सुरक्षामा विशेष निगरानी जारी गरेको छ। निवासदेखि सार्वजनिक कार्यक्रमसम्म सुरक्षा ‘रेड–अलर्ट’ मोडमा छ। एसएसपी रमेश थापाका अनुसार डिजिटल फुटप्रिन्ट, सूचनाको प्रवाह, सीमापार गतिविधि र सम्भावित नेटवर्कमाथि छुट्टै छानबिन भइरहेको छ। तर वास्तविक प्रश्न भने यथावत छ—हिंसा र अहिंसा फैलाउने अभियानले कसको हित पूरा गर्छ ?

असन्तुष्ट नागरिकको स्वतःस्फूर्त उभार ?

संगठित मज्जाले डिजाइन गरिएको राजनीतिक–सुरक्षात्मक प्रयोगशाला ?, बाह्य हस्तक्षेप ?वा अस्थिरता चाहने समूहहरूको भू–राजनीतिक खेल ? जेनजी आन्दोलनपछिका गतिविधिहरू हेर्दा मुलुकमा ‘उग्रवादी मनोविज्ञान’ सक्रिय रूपमा रोप्ने शक्ति कतैबाट चलिरहेको संकेत स्पष्ट देखिँदैछ। देश अहिले शान्तिको बाटो खोजिरहेको बेला हिंसा–अहिंसा फैलाउने यी अभियानहरू राज्यको भविष्यका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा सतहमा आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *