देश

अख्तियार प्रमुखसहित १० हाइप्रोफाइललाई ज्यान मार्ने धम्की दिने ‘उग्रवादी’ दाबी गर्ने को हुन् ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० हाइप्रोफाइल व्यक्तिलाई ज्यान धम्की दिएको आरोपमा प्रहरी अनुसन्धान तीव्र बनेको छ । सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै आफूलाई ‘उग्रवादी समूह’का अध्यक्ष भनेर परिचय दिने युवकले उच्चपदस्थ व्यक्तिहरूलाई ‘सफाया’ गर्ने चेतावनी दिएपछि प्रहरी सक्रिय बनेको हो।

उपत्यका प्रहरी परिसर काठमाडौँका एक अधिकारीका अनुसार धम्की प्रकरणमा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। ती व्यक्तिहरू धम्की दिने युवकसँग सामाजिक सञ्जालमा निरन्तर सम्पर्कमा देखिएका थिए।

भिडियोमार्फत धम्की दिने युवकले अख्तियार प्रमुख राईसहित पूर्व प्रमुख आयुक्त लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र व्यवसायी दुर्गा प्रसाईंलाई लक्षित गर्दै १० दिनभित्र “सक्काइदिने” भन्दै बयान सार्वजनिक गरेका थिए। उनले अख्तियारमा त्यही आशयको पत्रसमेत पठाइएको दाबी गरेका छन्।

मङ्सिर १७ मा उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सबै १० जनाको सुरक्षामा विशेष निगरानी वृद्धि गर्न सर्कुलर जारी गरेको थियो। निवास, भ्रमण मार्गदेखि कार्यक्रमस्थलसम्म सुरक्षा सुदृढ पार्न निर्देशन दिइएको प्रहरीले जनाएको छ।

काठमाडौँका एसएसपी रमेश थापाका अनुसार आफूलाई ‘एक्ट्रीमिस्ट ग्रुप अफ नेपाल’ का अध्यक्ष बताउने युवकबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको छ। उक्त युवकले भिडियोमा आफू भारतमा रहेको र नेपाल प्रहरीले पक्राउ गर्न खोजिरहेको दाबी गरे पनि उसको वास्तविक अवस्था स्पष्ट भइसकेको छैन।

धम्कीको प्रकृति उच्च संवेदनशील देखिएको भन्दै प्रहरीले डिजिटल फुटप्रिन्ट, घनिष्ठ सम्पर्ककर्ता र सम्भावित नेटवर्कबारे छुट्टै रूपमा अनुसन्धान अघि बढाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *