काठमाडौं । उच्च पदस्थ व्यक्तिहरूलाई लक्षित गरी आएको धम्कीपत्रको विषयलाई गम्भीररूपमा लिँदै प्रहरीले प्रारम्भिक रूपमा दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तीव्र पारेको छ। धम्की पत्रमा उल्लेखित प्रकाश पाठकसँग सम्बन्ध वा सम्पर्क देखिएका व्यक्तिहरूलाई प्रहरी कारबाहीमा ल्याइएको हो।
प्रहरी उच्च स्रोतका अनुसार ‘धम्की दिने भनिएका व्यक्तिसँग चिनजान र सम्पर्क देखिएपछि सोधपुछका लागि बोलाइएको हो। अनुसन्धान जारी भएकाले नियन्त्रणमा लिइएकाहरूको विवरण फिलहाल सार्वजनिक गरिएको छैन,’ स्रोतले बतायो।
केही दिनअघि सार्वजनिक भएको मिति विहीन, दुई पृष्ठ लामो पत्रले सुरक्षा संयन्त्रमा व्यापक तरंग उत्पन्न गरेको थियो। ‘एस्ट्रिमिस्ट ग्रुप अफ नेपाल (ईएनजी)’ नामको लेटरहेड सहित सार्वजनिक पत्रमा प्रमुख आयुक्त प्रेमकुमार राईदेखि पूर्वप्रमुख आयुक्त लोकमान सिंह कार्की, पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, व्यवसायी दुर्गा प्रसाईंलगायत करिब दर्जनजना व्यक्तिलाई लक्षित गर्दै गम्भीर धम्की उल्लेख गरिएको छ।
पत्र बाहिरिएलगत्तै काठमाडौं उपत्यका प्रहरी कार्यालयले मातहतका निकायलाई सतर्कता बढाउन निर्देशन दिएको थियो। सोही बीच प्रकाश पाठक नाम बताउने व्यक्तिले भिडियो सन्देशमार्फत समेत अख्तियार प्रमुखलाई १० दिनभित्र राजीनामा दिन चेतावनी दिएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका बहालवाला प्रमुखलाई ज्यानसमेतको धम्की आएपछि आयोगले समेत प्रहरीसँग समन्वय गर्दै थप सुरक्षा र अनुसन्धानका विषयमा छलफल गरेको जानकारी प्राप्त भएको छ। धम्की प्रकरणको संवेदनशीलता हेर्दै प्रहरीले प्राविधिक विश्लेषणदेखि सम्भावित संलग्न व्यक्तिहरूको गतिविधि निगरानीसम्मका कदम चालेको बताइएको छ।




