काठमाडौं । अल्पविकसित राष्ट्रहरूको (एलडिसी) दिगो विकासका लागि विश्वव्यापी साझेदारी सुदृढ गर्न दोहामा सुरु भएको उच्चस्तरीय बैठकमा नेपालले एलडिसीबाट विकासशील देशमा रूपान्तरणको यात्रा समृद्ध र दिगो विकासतर्फको महत्वपूर्ण मोड हो भन्दै आवश्यक वित्तीय र एकीकृत सहयोग अनिवार्य रूपमा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ।
कतार कोष र संयुक्त राष्ट्रसङ्घीय उच्च प्रतिनिधिको कार्यालय (यूएन–ओएचआरएलएलएस)ले आयोजनामा रहेको उक्त बैठकमा एलडिसी समूहका अध्यक्षसमेत रहेका परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको तर्फबाट सम्बोधन गर्दै रूपान्तरणको लक्ष्य पूरा गर्न विशेष सहकार्य र लगानी आवश्यक रहेको बताए
परराष्ट्र मन्त्रालयका अनुसार सचिव राईले बैठकको क्रममा संयुक्त राष्ट्रसङ्घ प्रविधि बैंकका प्रबन्ध निर्देशक देवदत्त महाराजसँग छुट्टै भेटवार्ता गर्दै एलडिसीबाट विकासशील देशमा रूपान्तरणको प्रक्रियामा नेपाललाई सहजता दिलाउन प्रविधि बैंकको सक्रिय सहयोग अपेक्षित रहेको उल्लेख गरे । दुवै पक्षबीच प्रविधि हस्तान्तरण, क्षमता अभिवृद्धि र सहकार्यका सम्भावित क्षेत्रहरूबारे विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ।




