काठमाडौं । लगातार दुई वर्षको बाढीपहिरोले क्षतिग्रस्त बनेको बीपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा अघि बढेको छ। रोशी नदीमा आएको बाढीका कारण काभ्रेपलाञ्चोक–सिन्धुली खण्डको करिब २८ किलोमिटर सडक जोखिमपूर्ण बनेपछि सरकारले पुनर्निर्माणलाई उच्च प्रथमिकतामा राखेको हो।
राजमार्गको क्षतिग्रस्त भागलाई पाँच खण्डमा विभाजन गरी काम थालिएको छ। तीमध्ये चार खण्डअन्तर्गत पर्ने २५ किलोमिटर क्षेत्रमा ठेक्का सम्झौतासहित निर्माण कार्य धमाधम भइरहेको सडक विभागले जनाएको छ। पुनर्निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। बाँकी ३ किलोमिटर खण्ड भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहयोगमा पुनर्निर्माण हुनेछ, जसको डिजाइन स्वीकृत भइसकेको छ र हाल ठेक्का प्रक्रियामा रहेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणको प्रगतिबारे विस्तृत जानकारी लिएका छन्। स्थलगत अनुगमनमा सडक विभागका महानिर्देशक विजय जैशी र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख सुभराज न्यौपाने पनि सहभागी थिए।
निरीक्षणका क्रममा घिसिङले निर्माण तालिका, अस्थायी डाइभर्सनको अवस्था, जाइकाको सहयोगमा हुने पुनर्निर्माण, स्रोत–साधन परिचालन लगायतका विषयमा सरोकारवालासँग छलफल गरेका थिए। वर्षायाम सुरु भएलगत्तै अस्थायी डाइभर्सन अनुपयोगी बन्ने भएकाले आवश्यक संरचना बर्खाअघि नै तयार पार्न उनले कडाइका साथ निर्देशन दिएको बताइएको छ।
जनशक्ति थप्दै राति–दिन काम अघि बढाउन र निर्माण स्थलमा आवश्यक विद्युत व्यवस्थापन तुरुन्त मिलाउन मन्त्री घिसिङले ठेकेदार र परियोजना व्यवस्थापनलाई आदेश दिएका छन्।
पूर्वी क्षेत्रलाई काठमाडौंसँग जोड्ने जीवनरेखा मानिने १६० किलोमिटर लामो बीपी राजमार्ग जापान सरकारको अनुदानमा बनेको थियो। गत वर्षको बाढीले ३०.५ किलोमिटर खण्ड क्षतिग्रस्त बनेपछि अहिले इन्टरमिडियट लेनलाई दुरुस्त गर्दै ती भागमा नयाँ दुई लेन सुविधा निर्माण भइरहेको छ।




