काठमाडौं । आगामी राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकार तथा राजनीतिक दलहरूलाई एकैसाथ विस्तृत बृफिङ गर्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा शुक्रबार दिउँसो ४ बजे वालुवाटारमा बस्ने सर्वपक्षीय बैठकमा आयोग, सरकार, प्रमुख राजनीतिक दलका प्रतिनिधि, जेनजी आन्दोलन पक्ष, सुरक्षा निकायका प्रमुख तथा आयुक्तहरू सहभागी हुनेछन्।
आगामी निर्वाचन प्रक्रियालाई सहज, विश्वासिलो र निष्पक्ष बनाउन आवश्यक पूर्वतयारी, कानुनी तथा व्यवस्थापकीय चुनौती र सुरक्षा पक्षबारे आयोगका आयुक्तहरूले बैठकमा विस्तृत रूपमा प्रस्तुत गर्ने आयोगले जनाएको छ। स्रोत–साधनको उपलब्धता, प्राविधिक तयारी तथा आर्थिक अवस्थासमेत बृफिङको मुख्य एजेन्डा रहनेछ।
आयोगका एक अधिकारीका अनुसार चुनावी वातावरणप्रति राजनीतिक दलहरूको विश्वास कायम राख्नु अहिलेको मुख्य चुनौती बनेको छ। “सरकारले चुनाव गराउने प्रतिबद्धता देखाए पनि दलहरूबीच उत्पन्न अविश्वासलाई समाप्त पार्न सर्वपक्षीय संवाद अनिवार्य बनेको छ,” अधिकारीले बताए। हालै चर्चामा आएका ‘लुटिएका हतियार’ सम्बन्धी विषयबारे पनि सरकारले स्पष्ट धारणा राख्ने अपेक्षा आयोगको रहेको छ।
राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ ११ गते हुँदैछ, जसमा १३ राजनीतिक दलले सहभागीता जनाइसकेका छन्। त्यस्तै, प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते तय गरिएको छ। सो निर्वाचनका लागि ११७ राजनीतिक दलले आयोगसमक्ष निवेदन दिएका छन् र ती निवेदनहरूको अध्ययन जारी छ।
सर्वपक्षीय बैठकबाट आगामी निर्वाचनको विश्वसनीयता र स्थायित्वका लागि ठोस मार्गचित्र तयार हुने अपेक्षा गरिएको छ।




