देश

धम्की प्रकरण पछि १० हाइप्रोफाइल व्यक्तिको आवास वरपर कडा सुरक्षा : उपत्यकाभर निगरानीको निर्देशन

काठमाडौं । अख्तियार प्रमुख आयुक्त प्रेम कुमार राईलगायत १० हाइप्रोफाइल व्यक्तिलाई सोसल मिडियामार्फत ज्यानमार्ने चेतावनी दिइएपछि उपत्यकामा उच्च सुरक्षा सतर्कता जारी गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुरका सबै प्रहरी इकाइलाई ती व्यक्तिहरूको निवास, भ्रमण मार्ग र सम्भावित कार्यक्रमस्थल आसपास कडा निगरानी गर्न सर्कुलर जारी गरेको हो।

आफूलाई ‘उग्रवादी संगठन’ का अध्यक्ष बताउने एक युवकले भिडियो प्रकाशित गर्दै पूर्वआईजीपीदेखि अख्तियार प्रमुखसम्मका नाम उल्लेख गर्दै ‘सफाया गर्ने’ चेतावनी दिएका थिए। धम्कीमा परेकामध्ये पूर्वअख्तियार प्रमुख लोकमान सिंह कार्की, पूर्वआईजीपी गोपालबहादुर खड्का, हेमबहादुर गुरुङ, ओमविक्रम राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, आरजु राणा, रमेश लेखक, दुर्गा प्रसाईँलगायतका नाम समावेश छन्।

उपत्यकाभर कडा निगरानी

प्रहरी प्रधान कार्यालयको निर्देशनपछि उपत्यका प्रहरी कार्यालयले सबै युनिटहरूलाई सुरक्षा तयारी सुदृढ गर्न निर्देशन दिएको छ। सर्कुलरमार्फत धम्की पाएका व्यक्तिहरू मात्र नभई क्षेत्रभित्र बस्ने अरू विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था पनि मजबुत बनाउन भनिएको छ।

सर्कुलरमा भनिएको छ, “कथित उग्रवादी समूहहरूको गतिविधिबारे क्रियाशील खबर संकलन गरी सुरक्षामा कुनै कमजोरी नहोस् भन्ने गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनू।”

धम्की दिने युवक ‘भारतमा छु’ दाबी

काठमाडौँका एसएसपी रमेश थापाका अनुसार धम्की दिने युवकबारे अनुसन्धान अघि बढाइएको छ। थापाले भने, “सामाजिक सञ्जालमा अवाञ्छित तवरले धम्की दिएकाले आवश्यक प्रक्रिया अघि बढाइएको छ।”

सोसल मिडियामा आफूलाई ‘एक्स्ट्रीमिस्ट ग्रुप अफ नेपाल’ का अध्यक्ष बताउने युवकले भिडियोमा अख्तियार प्रमुखलाई तत्काल राजीनामा दिन आग्रह गर्दै “१० दिनभित्र सक्काइदिन्छौँ” भनी खुलेआम चेतावनी दिएका छन्। त्यसैगरी आफूलाई पक्राउ गर्न प्रहरीले खोजे पनि अहिले भारतमा रहेको र पक्राउ “असम्भव” भएको दाबी उनले भिडियोमा गरेका छन्। प्रहरीले यस प्रकरणलाई गम्भीर रूपले लिँदै संभावित जोखिम नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *