काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकार फागुन २१ गते तय भएको आम निर्वाचन सफलतापूर्वक सम्पन्न गराएर देशको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्न तयार रहेको बताएकी छन्।
ज्यापु संस्कृति विकास कोषको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले निर्वाचन तयारीलाई अन्तिम चरणमा पुर्याएको उल्लेख गरिन्। “घोषित मितिमा चुनाव गराउने हाम्रो लक्ष्य स्पष्ट छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “युवाशक्तिले माग गरिरहेको सुशासन, रोजगार र भ्रष्टाचारमुक्त व्यवस्थाको आधार यतिबेलै निर्माण हुनुपर्छ।”
उनका अनुसार भदौ २३–२४ को जेनजी आन्दोलनले देशलाई महत्वपूर्ण पाठ दिएको छ— युवाहरू परिवर्तन, पारदर्शिता र उत्तरदायित्वयुक्त राज्य व्यवस्थाका लागि उठिरहेका छन्। प्रधानमन्त्रीले निष्पक्ष र भयरहित मतदान सुनिश्चित गर्न सबै नेपालीले आफ्नो भूमिकाबाट सहयोग गर्न आग्रह गर्दै निर्वाचनलाई राष्ट्रिय अभियानका रूपमा लिनु आवश्यक भएको बताइन्।




