काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा पार्टीले उद्घाटन समारोहलाई व्यवस्थित र भव्य बनाउन १० हजार स्वयंसेवक परिचालन गर्ने भएको छ। स्वयंसेवक परिचालन समिति संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटनको खुल्ला सत्रमा ठूलो भीड अपेक्षित भएकाले सुरक्षा र व्यवस्थापनका लागि यस्तो तयारी गरिएको हो।
ढकालले बन्दसत्रका लागि करिब ५०० स्वयंसेवक मात्र पर्याप्त हुने जानकारी दिए। एमालेको महाधिवेशनको उद्घाटन भदौ २७ गते भक्तपुरको सल्लाघारी खुल्लाचौरमा हुने बताइएको छ भने मुख्य बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुनेछ।
स्वयंसेवकहरू पार्टीको २४ जनसंगठन तथा विभिन्न कमिटीबाट खटाइनेछन्। हालै गठन गरिएको राष्ट्रिय स्वयंसेवक फोर्स (एनभीएफ) ले समग्र समन्वय र व्यवस्थापनमा भूमिका निर्वाह गर्नेछ।
उद्घाटन समारोहका लागि मञ्च निर्माण, शौचालय लगायतका पूर्वाधार तयारी तीव्र गतिमा भइरहेको एमालेले जनाएको छ। सहभागीहरूको सहजताका लागि सवारी पार्किङको व्यवस्था पनि तय गरिएको छ। पूर्वतर्फबाट आउने सवारीसाधनलाई जगातीस्थित इँटा तथा टायल कारखानामा तथा पश्चिमतर्फबाट आउने सवारीलाई गठ्ठाघर–कमेरोटार क्षेत्रमा पार्किङ गराइनेछ।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुनेछ। महाधिवेशनमा आयोजक र निर्वाचित गरी कुल २ हजार ४०० प्रतिनिधि रहने बताइएको छ।




