देश

जेनजी प्रदर्शन छानबिन : पूर्व काठमाडौँ प्रजिअ छवि रिजाल पुनः आयोगको बयानमा

काठमाडौँ । भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका घटनाबारे छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग विस्तृत रूपमा बयान लिएको छ। आयोगले रिजाललाई मङ्सिर १७ र १८ गते सिंहदरबारस्थित कार्यालयमा बोलाएर सोधपुछ गरेको हो।

जेनजी आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा गोली चलेर किशोरहरूको ज्यान गएको घटनामा रिजालमाथि गोली चलाउन आदेश दिएको आरोप सार्वजनिक रूपमा उठ्दै आएको छ। सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँको वेबसाइटबाट उनको फोटोसमेत हटाइएको थियो।

आयोगका एक सदस्यका अनुसार रिजालसँग दुई दिनसम्म बयान लिएपछि पनि केही प्रश्न बाँकी छन्। “उनको बयान अन्तिम चरणमा छ, बाँकी रहेका प्रश्नका लागि शुक्रबार फेरि बोलाइनेछ,” सदस्यले जानकारी दिए।

गौरीबहादुर कार्की नेतृत्वको आयोगले यसअघि सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख नारायणदत्त पौडेल, नेपाल प्रहरीका एआईजी सिद्धिविक्रम शाह, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख हुतराज थापा, पूर्वमुख्यसचिव एकनारायण अर्यालसहित विभिन्न निकायका वरिष्ठ अधिकारीसँग बयान लिइसकेको छ।

त्यसैगरी उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ, नेपाल प्रहरीका एसपी अपिल बोहरा र कुलदिप चन्दलगायतका अधिकारीहरूसँग पनि आयोगले बुझाइ लिएर फाइलमा थपेको छ।

हालसम्म करिब १५० जनासँग बयान लिइसकेको आयोगले जनाएको छ। छानबिनको काम अन्तिम चरणतर्फ पुगेको भए पनि प्रमुख व्यक्तिहरूसँगका केही महत्वपूर्ण सोधपुछ प्रक्रिया अझै जारी छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *