काठमाडौं । मधेश प्रदेशमा राजनीतिक उतार–चढाव तीव्र बन्दै गर्दा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि औपचारिक आह्वान गरेका छन्। संविधानको धारा १६८(२) अनुरूप बहुमत सिद्ध गर्न सक्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनयुक्त प्रदेशसभा सदस्यले शुक्रबार साँझ ५ बजेसम्म दाबी पेश गर्नुपर्ने भएको छ।
यो आह्वान नेकपा एमालेका सरोजकुमार यादव नेतृत्वको सरकारले राजीनामा दिएपछि आएको हो। ठूलो दलका रूपमा १६८(३) बमोजिम नियुक्त भएका यादवले सर्वोच्च अदालतबाट २४ घण्टाभित्र विश्वासको मत लिनुपर्ने आदेश आएपछि विश्वास पाउने सम्भावना न्यून देखिँदै बुधबार राजीनामा दिएका थिए।
यादवले गत कात्तिक २४ गते बर्दिबासस्थित पानस होटलमा शपथ लिएर मुख्यमन्त्री बनेका थिए। तर सत्ता समीकरण बिग्रँदै जाँदा २२ दिनमै उनको सरकार ढलेको हो। अब मधेश प्रदेशमा नयाँ बहुमत निर्माण र सत्ता पुनर्संयोजनका लागि दलहरूबीच तीव्र राजनीतिक कसरत शुरु भएको छ।




