मधेश प्रदेश

मधेस प्रदेश मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिए

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभामा विश्वासको मत लिन बोलाइएको बैठकमा पदबाट राजीनामा दिएका छन्।

सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। अदालतको आदेशअनुसार आज बिहान प्रदेशसभा बैठक बोलाइएको थियो। तर सत्तापक्षकै केही सांसद अनुपस्थित भएकाले बैठक दिउँसो २ बजेसम्म सारिएको थियो।

विश्वासको मत नपाउने अवस्था देखिएपछि यादवले सोही बैठकमा पदबाट राजीनामाको घोषणा गरेका हुन्।

यादव कात्तिक २३ गते संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। तर उनको नियुक्ति असंवैधानिक भएको भन्दै प्रदेशकै सात दलका सांसदहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *