काठमाडौं । काठमाडौंको राष्ट्रिय सभा गृहमा आज उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभा सुरु भएको छ। ऊर्जा मन्त्री कुलमान घिसिङको समर्थनमा गठन भएको यस नयाँ पार्टीको घोषणा सभामा मन्त्री घिसिङ स्वयं उपस्थित भई सम्बोधन गर्दैछन्।
निर्वाचन आयोगमा पूर्वसचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा दर्ता भइसकेको पार्टीले आजको सभाबाट आफ्नो औपचारिक परिचय गराउँदैछ। सभास्थलमा हरियो टोपी लगाएका समर्थकहरू र हरियो झन्डा बोकेकाहरूको बाक्लो उपस्थिति छ। पार्टीको चुनाव चिह्न ‘बलिरहेको चिम’ले प्रवेशद्वारमा ठूलो प्रतीकात्मक रूपमा राखिएको छ।
मन्त्री घिसिङले सभामा सहभागी भई उद्घाटन सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ। यस सभाले नयाँ राजनीतिक पार्टीको उद्देश्य, विचारधारा र आगामी रणनीति प्रष्ट रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।




