काठमाडौं । जेनजी प्रदर्शनको क्रममा सुरक्षा निकायको भूमिकाबारे स्पष्ट तथ्य संकलन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई शीर्ष अधिकारीसँग बयान लिएको छ।
आयोगले सशस्त्र प्रहरीका कार्य विभाग प्रमुख एआईजी नारायणदत्त पौडेल र नेपाल प्रहरीका तत्कालीन कार्य विभाग प्रमुख एआईजी सिद्धिविक्रम शाहलाई बोलाएर सोधपुछ गरेको हो। जेनजी प्रदर्शनको संवेदनशील अवस्थाको प्रत्यक्ष जिम्मेवारी उनीहरूकै मातहतमा रहेकाले आयोगले विस्तृत जानकारी मागेको हो।
पूर्व गुप्तचर प्रमुख र मुख्यसचिवसँग पनि बयान
जाँचबुझ आयोगले यसअघि राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापासँग मंसिर १० गते बयान लिएको थियो। थापाले पदावधि सकेर भदौ २८ मा सेवा निवृत्त भए पनि प्रदर्शनका बेला गुप्तचर प्रमुखको जिम्मेवारीमा थिए। बयानपछि थापामाथि लगाइएको विदेश भ्रमण तथा उपत्यका बाहिर जान नपाउने प्रतिबन्ध समेत हटाइएको छ। त्यसअघि आयोगले पूर्वमुख्यसचिव एकनारायण अर्यालसँग पनि सोधपुछ गरिसकेको छ।
जेनजी घटनासँग सम्बन्धित भूमिकाबारे आयोगले राष्ट्रिय अनुसन्धान विभागका डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ, र नेपाल प्रहरीका एसपी अपिल बोहरा तथा कुलदिप चन्दसँग पनि बयान लिइसकेको छ। जाँचबुझ आयोगले प्रदर्शनका क्रममा सुरक्षा निकायले अपनाएको रणनीति, निर्णय र कमाण्ड चेनको समीक्षा गर्दै घटनाको वस्तुगत निष्कर्ष निकाल्ने तयारी गरेको जनाएको छ।




