काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले अपांगता भएका व्यक्तिले भोगिरहेका भौतिक, कानुनी, दृष्टिकोणजन्य र सञ्चारमा रहेका अवरोध हटाई सहज,पहुँचयुक्त र सम्मानजनक अवस्थाको सिर्जना आजको आवश्यकता रहेको बताएकी छिन् । आज अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तरराष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री कार्कीले एक शुभकामना सन्देश सार्वजनिक गर्दै यस्तो बताएकी हुन् ।
अपांगता रोकथाम, पुनःस्थापना र रोजगार कार्यक्रममा तीनै तहका सरकारको प्रयासबाट मात्र उनीहरुको स्वावलम्बी जीवन सुनिश्चित हुने भन्दै प्रधानमन्त्री कार्कीले सबैलाई सो कार्यमा जुट्न आग्रह गरेकी छन् । हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि अपाङ्गतासम्बन्धी विभिन्न कार्यक्रम गरी मनाउँदै आइएको छ।
अन्तर्राष्ट्रिय नारा तथा अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धनू भन्ने राष्ट्रिय मूल नाराका साथ मङ्सिर १७ गते मनाउन लागिएकोप्रति प्रधानमन्त्री कार्कीले खुशी व्यक्त गरेकी छन् । उनले जारी गरेको विज्ञप्तीमा उल्लेख छ – यस महत्त्वपूर्ण अवसरमा सम्पूर्ण देशवासी तथा विश्वभरका अपाङ्गता भएका दिदीबहिनी, दाजुभाइ, अभिभावक, यस क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी सङ्घसंस्था, नागरिक समाजलगायत सबै सरोकारवालाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
नेपालको संविधान, नेपाल पक्ष राष्ट्र भएका अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धि, विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई अधिकतम रूपमा सम्बोधन गरेका छन् । अपाङ्गता भएका व्यक्तिको आर्थिक९सामाजिक अवस्था एवम् अपाङ्गताको गम्भीरताको आधारमा अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधामा प्राथमिकता दिई सबै अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक र समतामूलक जीवनयापनको वातावरण निर्माण गर्ने राज्यको नीति रहेको छ ।
अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवम् पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको छ। दिगो विकासको लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास र शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता उनले व्यक्ति गरेकी छिन् ।





